नेभिगेशन
अर्थतन्त्र विविध

धान उत्पादन बढ्यो, चामल आयात घट्यो

काठमाडौँ –अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यक्ता धान्न अझै करिब ४ लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।


नेपालमा चामलको राष्ट्रिय आवश्यक्ता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटेको भए पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।


चामलको उपभोग करिब १२१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यक्ता करिब ४० लाख मेट्रिक टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आर्ति वर्ष २०७८/८९ मा धान/चामल/कनिकाको आयात भने करिब ४ अर्ब अर्थात् ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।


तर आर्थिक वर्ष २०७८/७९ को ५ महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८ दशमलव २ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ । यसैबीच, मन्त्रालयको तथ्याङ्कअनुसार चैते र वर्षे गरी १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन र उत्पादकत्व ३ दशमलव ७९ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।


गएको आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको देखिएको छ भने उत्पादनमा ६ दशमलव ९४ प्रतिशतको वृद्धि भएको छ । नेपालमा धानका अत्यन्त लोकप्रिय जात हर्दिनाथ, खुमल, राधा, स्वर्ण सव हुन् ।


धानमा आत्मनिर्भरताका लागि सरकारले पालिका र प्रदेशको समन्वयमा मन्त्रालयले उत्पादन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मसिना तथा बासनादार, चैते र जातीय धान विकास अनुसन्धान कार्यक्रम तथा न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयको दाबी छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सहकारीमार्फत् तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदको व्यवस्था गरिएको छ । सरकारले त्यसबापत सहकारीलाई प्रतिक्विण्टल ११२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म सूचीकृत सहकारीबाट करिब ९० हजार मेट्रिक टन धान खरिदका लागि आशय प्राप्त भएको छ । 


प्रदेशगत रूपमा गएको आर्थिक वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको तथ्याङ्कले देखाएको छ । गएको वर्ष बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ठूलो क्षति भएको थियो ।


यस वर्ष लुम्बिनी प्रदेशमा १५ दशमलव २ प्रतिशत,  प्रदेश १ मा ५ दशमलव ७२ प्रतिशत र कर्णालीमा ३ दशमलव ४६ प्रतिशत र मधेस प्रदेशमा ० दशमलव १८ प्रतिशत उत्पादन वृद्धि भएको छ भने बाग्मती र गण्डकी प्रदेशमा गएको वर्षको तुलनामा क्रमशः १ दशमलव ४५ र ३ दशमलव ७४ प्रतिशत उत्पादन कमी भएको देखिन्छ ।


तराईका जिल्लामा रासायनिक मलको उपलब्धता, उन्नत बीउको प्रयोगमा वृद्धि र पालिकासम्म कृषि प्राविधिको पहुँचले धान उत्पादनमा यस वर्ष सामान्य वृद्धि भएको मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध