नेभिगेशन
अर्थतन्त्र विविध

झुत्रा नोटबाट बनेको ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले काम नलाग्ने, च्यातिएका र झुत्रा नोटबाट बनाएको ब्रिकेट र टुक्रा कागज बिक्री गर्ने भएको छ । 

 

चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रो र पुरानो नोटलाई मेसिनबाट टुक्र्याएर बैंकले ब्रिकेट बनाएको हो । त्यसरी उत्पादन हुने (वार्षिक २ लाख ७५ हजार किलो) ब्रिकेट र स्रेडेड टुक्रा बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । 

 

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखिएको जनाएको छ ।

 

१५ पुसमा सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले ४५ दिनभित्र बोलपत्र पेस गर्न आह्वान गरेको छ । ब्रिकेट किन्न इच्छुक खरिदकर्ताले फागुन १ गते दिउँसो १२ बजेसम्ममा राष्ट्र बैंकको मुख्य कार्यालय वा प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्ने सूचनामा उल्लेख छ । 

 

खरिदकर्ताले बोलपत्र पेस गर्न २ हजार रुपैयाँ भुक्तानी गरेर प्रादेशिक वा मुख्य कार्यालयबाट दरभाउपत्र फारम खरिद गर्नुपर्ने छ । ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य बढाबढ प्रतिस्पर्धाका आधारमा बिक्री गरिने बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकले हाल मुख्य कार्यालय काठमाडौं र देशभरका  प्रादेशिक कार्यालयमा झुत्रा नोटबाट ब्रिकेट बनाइरहेको छ । ब्रिकेट खरिद गर्न चाहनेले हरेक कार्यालयको उत्पादन अलगअलग वा सबै कार्यालयको एकमुष्ट दुवै विकल्पमा दरभाउपत्र पेस गर्न सक्नेछन् । 

 

बोलपत्र पेस गर्दा आफूले वार्षिक रूपमा खरिद गर्न चाहेको परिणामको मूल्यको १ चौथाइको १० प्रतिशत रकम धरौटी राख्नुपर्ने बैंकले जनाएको छ । त्यसरी जम्मा गरेर भौचर बुझाउन नसके ७५ दिन मान्य हुने सो रकमबराबरको बैंक ग्यारेन्टी संलग्न गरे पनि हुने जनाएको छ ।

 

फागुन १ गतेसम्म प्राप्त भएका बोलपत्रहरू फागुन १६ गते दिउँसो १२ बजे मुद्रा व्यवस्थापन शाखा, बालुवाटारमा खोलिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

 

सर्वसाधारणले प्रयोग गर्ने क्रममा च्यातिएका, झुत्रा भएका तथा काम नलाग्ने भएका पुराना नोट बैंकमार्फत सटही गरी राष्ट्र बैंकमा फिर्ता हुन्छ । तिनै फिर्ता भई आएका नोटको मूल्यबराबरको नयाँ नोट छापिन्छ भने पुरानो नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाइन्छ । 

 

ब्रिकेट बनाउन ‘बिएसबिएस’ (बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम) मेसिन प्रयोग गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध