नयाँ सरकारलाई शुभकामना !

आइतबार, पुस १०, २०७९

ठुला कम्युनिस्ट पार्टीहरू फेरि एक ठाउँमा उभिएर नयाँ सरकार गठन गर्ने निर्णय गरेका छन् ।

 

सत्ता गठबन्धनले निर्वाचनमा बहुमत नल्याएको र गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद नमिलेपछि दोस्रो ठूलो दल (एमाले) को समर्थनमा तेस्रो ठूलो दल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् ।

 

२०७४ को चुनावको पूर्वसन्ध्यामा वाम गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका एमाले र माओवादी केन्द्र यसपटक भने चुनावपछि नयाँ सरकार गठनमा एक भए ।

 

२०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो । र, नेकपाको तर्फबाट करिब दुई तिहाइ बहुमतसहित केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए ।

 

ओली प्रधानमन्त्री भएपछि नेकपाभित्र सुरु भएको विवादले उग्र रूप लिएपछि ओलीले २ पटक संसद् विघटन गरे । ओलीको कदम असंवैधानिक भन्दै अदालतले उल्टाइदिएपछि ओली सरकार ४१ महिनामै सत्ताबाट बाहिरियो र करिब सम्भावना नभएको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । यसका लागि उनले तत्कालीन प्रधानमन्त्री ओलीको गलत कदम र सर्वाेच्चको परमादेशको सहारा लिनुपरेको थियो ।

 

यो पृष्ठभूमि सम्झिनुपर्ने अवस्था किन छ भने एउटै पार्टीको करिब दुई तिहाइ बहसमतको सरकार हुँदा पनि अघिल्लो कार्यकालमा ५ वर्ष सरकार टिकेन । यसपालि त एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता कम्तीमा ५ दलको समर्थनमा नयाँ सरकार गठन हुँदै छ ।

 

एउटै दलको सरकार हुँदा त भागबन्डा नमिलेर बीचमै तितरबितर भएका कम्युनिस्ट पार्टीमा अब ५–६ वटा पार्टीको सरकार चलाउने ढंगको विकास होस् भन्ने कामना धेरै मानिसले गरेका छन् ।

 

विश्व आर्थिक संकट एकातिर छ भने अर्काेतिर नेपालकै आन्तरिक समस्याका कारण नेपाल गम्भीर आर्थिक संकटको अवस्थामा छ । बैंकको ब्याजदर बढेर १८ प्रतिशतको हाराहारीमा पुगेको छ । यस्तो अवस्थामा लगानी निरुत्साही हुने, रोजगारीका अवसर सिर्जना नहुने र समस्या थपिँदै जाने खतरा हुन्छ ।

 

नयाँ सरकारले अब सहमतिअनुसारको म्यादसम्म राम्रोसँग सरकार चलाउन सकोस्, जनतालाई सरकार भएको अनुभूति गराओस्, आर्थिक समस्या समाधान गर्न सफल होस् ।

 

सरकार गठनका लागि जुन सकस बेहोर्नुपर्याे, सरकार सञ्चालनका सवालमा दलहरूबीच त्यो अवस्था नआओस् भन्ने कामना गरौँ ।

 

नयाँ सरकारलाई शुभकामना ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्