जाडोमा बेसी झर्ने मनाङवासीले धुपी लैजान पाउने

आइतबार, पुस ३, २०७९

मनाङ–जाडो बढेसँगै मनाङवासी बेसी झर्छन् । बेसी झर्ने क्रममा मनाङवासीले धुपी लैजान स्वीकृति पाएका छन् । उनीहरूले घरायसी तथा धार्मिक कार्यका प्रयोगका लागि धुपी लैजान स्वीकृति दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङअन्तर्गत रहेका संरक्षण क्षेत्रका समितिले जनाएको छ ।

 

जाडो छल्न बेसी झर्ने क्रममा घरायसी एवं धार्मिक प्रयोजनका लागि धुपी लैजान दिने निर्णय भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । “जाडो छल्न जाने क्रममा मनाङवासीलाई प्रतिव्यक्ति १० किलोग्रामसम्म धुपी लैजान पाउने व्यवस्था गरिएको छ । घरायसी तथा धार्मिक कार्यका लागि अत्यावश्यक वस्तु भएकाले लैजान दिने एक्याप सम्बद्ध समितिबाट निर्णय भएको छ”, गौतमले भने । 

 

एक्यापका समितिद्वारा सम्बन्धित व्यक्तिले सिफारिससहित लैजान पाउने उनले बताए । सम्बन्धित समितिले धुपी लैजान चाहने व्यक्तिले नागरिकताको प्रतिलिपि, समितिको आम्दानी रसिद सङ्लग्न गरी धुपीको पातसहित छोडपूर्जी दिने उनले बताए । धुपीको पात एक वर्षमा एक व्यक्तिले एक पटकभन्दा बढी लैजान नपाउने व्यवस्था छ । –रासस

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्