नेभिगेशन
समाचार

राष्ट्रपति चयनमा दलहरु गम्भीर हुनुपर्छ: महामन्त्री शर्मा

‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ ।'

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

 

कांग्रेस झापा१–काठमाडौं सम्पर्क समितिले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले अहिलेको राष्ट्रपतिले पटक–पटक संविधान कुल्चने र उलंघन गर्ने काम गरेको बताउँदै अबको राष्ट्रपति चयनमा दलहरु गम्भीर हुनुपर्ने बताए । उनले संविधानको रक्षा र पालना गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिए । 


शर्माले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने जिकिर गर्दै भने, ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनुहुदैन’ उनले भने ।

 

सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने उनको भनाइ छ । अहिले मुलुकका देखिएका सवै समस्याहरुलाई गठबन्धन दलहरु मिलेर नै समाधान गर्नुपर्नेमा जोड दिँदै भने ‘राष्ट्रपतिमा कांग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् ।’ 

 

उनले राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नु सबैमा आग्रहसमेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार