भूमि आयोगमा थप चार हजार बढी निवेदन

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन्। गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन्। 


आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा ४ हजार ६७ जनाले निवेदन बुझाएका हुन्। आयोगको सूचनाअनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता श्रेस्ता एवम् नक्सा प्रमाणितलगायतका विषयमा समस्या भएकाहरूले निवेदन दिएको आयोगले जनाएको छ। विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले जानकारी दिए।


थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा आठ हजार पाँच सय २६ जनाको निवेदन परेको उनले जानकारी दिए। आयोगको सुरुआती समयमा चार हजार एक सय ३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो।


तीमध्ये अहिलेसम्म एक सय ७९ जनाले जग्गाधनी प्रमाण पुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताए । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ। यसअन्तर्गत माडी नगरपालिकामा ९ सय कित्ताको नाप नक्सा भइसकेको छ भने कालिका नगरपालिकामा तीन हजार ९४ कित्ता अर्थात् १३ लाख ८१ हजार ६ सय १६ दशमलव ९ वर्गमिटरको नाप नक्साको काम सकिएको छ।


भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार ५ सय २९ दशमलव ८ सय ६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताए। अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ। अन्य पालिकामा स्थलगत काम भइरहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्