नेपालले भारतलाई पठायो कुटनीतिक पत्र
काठमाडौँ–महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार कूटनीतिक नोट पठाएको हो । महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि ज्यादती भएको समयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ । जसमध्ये दुवै देशको सीमानदी महाकाली जारी एकपक्षीय तटबन्ध निर्माण रोक्न भनिएको छ । त्यसैगरी सीमाक्षेत्रमा यस्ता खालका निर्माण गर्दा पहिले नेपालसँग सहमति लिन र सल्लाह गर्न पनि कूटनीतिक नोटमार्फत भनिएको छ । तेस्रो बुँदामा सीमाक्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन भारतीय पक्ष सचेत हुनुपर्ने कुरा पनि नेपालले उठाएको छ ।
एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरेका थिए ।
यसअघि सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो । त्यही प्रतिवेदन प्राप्त भएपछि परराष्ट्रले भारतलाई कूटनीतिक नोट लेखेको हो ।