कडा सुरक्षाकाबीच दोलखामा मतदान सुरु

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं - विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। मतदान साँझ ५ बजेसम्म चल्ने छ।


११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।


मंसिर ४ गते भएको निर्वाचनका क्रममा बैत्यश्वर ६ मा बुथ कब्जा भएपछि मतपेटिका फुटाइएको थियो । यस्तै जेफेको हेल्थ पोष्टमा अत्यधिक मत र बैत्यश्वरको ३ मा मतपत्रको अधकट्टी हराएको थियो । बैत्यश्वरकै २ मा मतदातालाई मत हाल्न नदिएपछि कम मत खसेको तथ्यको आधारमा निर्वाचन आयोगले पुनः निर्वाचन गराउन लागेको हो ।


मतदानको दिन वडाहरू सिल गरेर बाहिरका मान्छे हिँडडुलमा प्रतिबन्ध गरिएको प्रहरीले जनाएको छ । मतदान गर्न आउने र मतदानपछि फर्कने मतदातालाई जनपद सशस्त्र र नेपाली सेनाले सुरक्षासहित घरसम्म फर्कने व्यवस्था गरिएको छ ।


खासगरी यी मतदानस्थमा मतदानका लागि आउने मतदातालाई ढुङ्गा हिर्काउने, गौंडामा ढुकेर आक्रमण गर्ने गरिएको छ । मतदातालाई प्रलोभन र त्रास दुवै पार्ने भएकाले सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानका लागि १० जना मतदान अधिकृतसहित ८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०१:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार