मतदाताको आशंका: भोट त हालियो, काम लाग्ला कि नलाग्ला!

सोमबार, मंसिर ५, २०७९

काठमाडौँ— काठमाडौं क्षेत्र नम्बर ३ का ६६ वर्षीय मतदाता किरण श्रेष्ठ मतदान पछि मतदान केन्द्र बाट बाहिर निस्कँदै गर्दा खासै उत्साहित देखिएनन् ।

देशमा देखिएको राजनीतिक अवस्थाबाट दिक्क भएका उनलाई भोट हाल्ने इच्छा भने पटक्कै थिएन । तर भोट हाल्नु एउटा असल नागरिकको कर्तव्य भएकाले मात्र आफ्नो कर्तव्य पुरा गरेको उनले बताए ।

उनले हाल सम्म कांग्रेस, एमाले, माओवादी जस्ता चर्चित राजनीतिक पार्टीका दलहरूलाई भोट दिँदै आएका छन् । तर सबैले आश्वासन मात्रै दिँदै आएकोमा आफ्नो भोट पुनः खेर जाने हो कि भन्ने पिरले उनलाई सताएको छ । 

४६ साल देखी लगातार कांग्रेसलाई मतदान गर्दै आएका बुद्धि लामा लगायत उनको सम्पूर्ण परिवारले यसपटक भने मतदान नगर्ने निर्णय गरे। उनी र उनको परिवार गरी लामासँग जम्मा ५ ओटा मतहरु रहेका छन् । तर यसपटकबाट भने उनलाई राजनीतिक दलहरू प्रति कुनै पनि आशा नरहेको कारण आफ्नो अमूल्य भोट खेर नफाल्ने निर्णय गरेको उनले बताए । 

यी दुई मतदाताहरू त प्रतिनिधि पात्र मात्र हुन उनीहरु जस्ता थुप्रै मतदाताहरू आफ्नो भोट खेर जान्छ कि भन्ने पिरमा छन् भने कतिपय भोट नै नहाल्ने निर्णयमा समेत पुगेका छन् । मतदाताहरूको जस्तो प्रतिक्रियाबाट अब जनतामा प्रतिनिधिहरू प्रतिको विश्वास घट्दै गइरहेको प्रस्ट हुन्छ । त्यस्तै हाल भएको मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा संविधान जारी भए पछिको दोस्रो आम निर्वाचनमा निराशाजनक मतदान भएको छ ।

निर्वाचन आयोगले हिजो पत्रकार सम्मेलन गर्दै दिएको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्ष अघिको आम निर्वाचनको तुलनामा  करिब ७ प्रतिशतले कम हो । विज्ञहरूले यसरी मतदानमा घट्दै जानु नेपालको राजनीतिक प्रति लज्जास्पद कुरा रहेको बताएका छन् ।  आयोगका अनुसार यस पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता मध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । 

यस पटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेशमा सबैभन्दा बढि ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारी अनुसार बाग्मतीमा ६१ दशमलव ५ , गण्डकीमा ६० लुम्बिनीमा ६० कर्णालीमा ६३ सुदूरपश्चिममा ६९ दशमलव ७७ प्रतिशत मतदान भएको छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार