नेभिगेशन
समाचार

रोल्पामा निर्वाचनको अन्तिम तयारी

रोल्पा–प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि रोल्पाबाट विभिन्न दल र स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धामा उत्रिएका छन् । १ निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा ५ जना र २ निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा ९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एमालेबाट पूर्ण बुढामगर, राप्रपा नेपालका रामबहादुर वली क्षेत्री, राप्रपाबाट लीला रावत नेपाल र नेपाल मजदूर किसान पार्टीबाट नातीभाइ ह्योम्बा चुनावी प्रतिपर्धामा रहेका छन् । यस्तै प्रदेशसभा तर्फ १ मा नेकपा एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गजबहादुर शाही, नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा र राप्रपाका पदमबहादुर थापा प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुन मगर, नेकपा एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाइँ प्रतिस्पर्धामा रहेका छन् । बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी जस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले चुनावी एजेण्डा बनाएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेले निर्वाचन प्रतिबद्धता पत्र नै जारी गरेका छन् भने अन्य दलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छैनन् । स्थानीय मतदाताको अपेक्षा बाह्रैमहिना चल्ने सडक, निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा स्वदेशमै रोजगारी जस्ता विषय पनि उम्मेदवारले प्रतिबद्धता पत्रमा समेटेका छन् । निर्वाचनका लागि रोल्पामा ८६ मतदानस्थलको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यगरी तीन भागमा बाँडेर सुरक्षाबन्दोबस्ती गरेको वताएको छ । जिल्ला सुरक्षा समितिका अनुसार ३१ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको रुपमा राखेको छ । जिल्लाका अति संवेदनशील मतदानस्थलमा थवाङ गाउँपालिकामा ३, रोल्पा नगरपालिकामा २, त्रिवेणी गाउँपालिकामा १, रुन्टीगढी गाउँपालिकामा ६, परिवर्तन गाउँपालिकामा २, गङ्गादेव गाउँपालिकामा ६, माडी गाउँपालिकामा १, सुनछहरी गाउँपालिका ५ र लुङ्ग्री गाउँपालिकामा पाँच रहेका छन् । यस्तै जिल्लाका ४२ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला सुरक्षा स्रोतले जानकारी दिएको छ । गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेकोमा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर जिल्ला सुरक्षा समितिको सिफारिसमा पाँच वटा मतदान केन्द्र थपिएको हो । जिल्लामा स्थायी एक सय ७५ र अस्थायी दुईसहित एक सय ७७ वटा मतदान केन्द्र कायम गरिएको छ । अस्थायी मतदान केन्द्रको रुपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । अस्थायी मतदान केन्द्रका कारागारका कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिकमा मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । मतदानस्थलवाट मुख्य निर्वाचन अधिकृतको कार्यालय लिवाङसम्म मतपेटिका सुरक्षित रुपले ल्याउने गरी सुरक्षा योजनासमेत बनिसकेको सुरक्षा स्रोतले जनाएको छ । प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सातसहित रोल्पामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा निर्वाचन आचारसंहिताको बारेमा आफूहरुले सुक्ष्म ढङ्गले अनुगमन गरिरहेको निर्वाचन आचारसंहिता अधिकृत रमेश घिमिरेले वताए । मतदाता शिक्षामा खट्ने महिला स्वास्थ्य स्वयमसेविकाको खर्च व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने डाँगीले जानकारी दिए । स्थानीयतहहरुमा नमूना मतदानको काम समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । विस २०७९ साल वैशाख ३० को स्थानीयतह निर्वाचनमा नेकपा माओवादी केन्द्रले १० मध्ये सात स्थानीयतहको अध्यक्ष उपाध्यक्ष जितेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले दुई अध्यक्ष र तीन उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । जिल्लामा ७२ वडामध्ये नेकपा माओवादी केन्द्रले ४८, नेपाली कांग्रेसले १४, नेकपा एमालेले ८, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक वडाध्यक्ष जितेका थिए । स्थानीयतहको निर्वाचनमा वडाको मतको आधारमा नेकपा माओवादी केन्द्रले ४०७९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४६६४, नेकपा एमाले १५३०१, राप्रपा १२१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेका थिए । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट वामगठबन्धनको साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका वर्षमान पुनले ४२०८४ मत प्राप्तगरी विजयी भएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले २०३३७ मत प्राप्त गरेका थिए । समानुपातिक तर्फ अघिल्लो संसदिय निर्वाचनमा नेकपा माओवादी केन्द्रले २७२२० मत, नेपाली कांग्रेसले १५८४७ मत र नेकपा एमालेले १०५४५ मत प्राप्त गरेको थियो । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार