नेभिगेशन
समाचार

३० वर्षसम्म पनि दलहरूको दम्भ उस्तै

  काठमाडौं–प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरूको चुनावी प्रचार प्रसार उत्कर्षमा पुगेको छ । यति बेला उम्मेद्वारहरु पार्टीका घोषणापत्र र आफ्ना प्रतिबद्धता लिएर घरदैलो कार्यक्रममा सहभागी भएका छन् । शीर्ष नेताहरूले उम्मेदवारको हौसला बढाउन देखि मतदाता रिझाउन चुनावी आमसभामा आफै सरिक हुने गरेका छन् । आफू र आफ्नो पार्टीलाई निर्वाचन जिताए मतदाताको जीवनमा आमूल परिवर्तन गर्ने, सधैँ जनताका दुख सुखमा साथ दिने, संसद्मा जनताका आवाज खरो रूपले राख्ने, राष्ट्रियता र स्वाधीनताको पक्षमा दरोसङ उभिने, जनमुखी नीति नियम बनाउने अनि यस्तै यस्तै । जसले मतदातालाई छिटो आकर्षण उम्मेद्वारहरु उस्तै एजेन्डा लिएर गाउँ गाउँ पुगेका छन् । चुनाव जिते पछि मलाई मत दिने पनि जनता थिए र उनीहरूले नै यहाँ पु¥याएका हुन भन्ने बिर्सेर सधैँ बालुवाटार र सिंहदरबार छिर्न तल्लीन हुने नेताले यती बेला भने जनताका खेत बारी देखि गाई भैसिको गोठ सम्म छोडेका छैनन् । तर विगतमा आफू र पार्टीले गरेका प्रतिबद्ध ता के भयो, पाँच वर्षमा के के गरियो भन्नेमा उनीहरूको कुनै ध्यान गरेको पाइँदैन । बरु जनतालाई सधैँ बेबकुब बनाउँदै झुटको राजनीति गर्ने दल र उम्मेदवारका फेरि पुरानै आश्वासन देख्दा आम मतदातालाई आगामी निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेमै अन्योल बनेका छन् । “कैलालीका हर्क गुरुङले भने—निर्वाचनमा उँहाहरु हात जोड्दै आउनु हुन्छ । तर जिते पछि कहिल्यै फर्केर आउनु हुन्न । हामीलाई चिन्नु पनि हुन्न । वाचा गरेका कुनै पनि कुरा पुरा गर्नु हुन्न । त्यसैले हामीले किन भोट दिने । भोट दिएर हामीलाई के हुन्छ ? ” यस्तै पाँचथर घर भई काठमाडौँमा मजदुरी गर्दै आएका केदार अर्यालले पनि कसलाई भोट दिने भन्नेमा अझै निर्णय गर्न सकेका छैनन् । निर्वाचनको माहौलले पाँचथरलाई सर्लक्कै छोएका बेला उनी भने परिवारको दुई छाक टार्नैका लागि काठमाडौँको नयाँ बानेश्वरमा मकै पोल्छन् । महानगरपालिकासँग लुकेर मकै पोल्दै गरेका उनले भने, “खै अब कसलाई भोट दिने हो थाहा छैन । काँग्रेस कम्युनिस्ट सबैलाई भोट दिइसके । कसैले केही गरेनन् । हाम्रा दुख जस्ताको तस्तै छ । तर हामीले मत दिएकाहरु अहिले चिल्लो गाडीमा सवारी गर्छन । अहिले पनि गाउँका भाइहरूले भोट हाल्न जानु पर्छ है दाइ , गाडीको बन्दोबस्त भइसकेको छ भन्दै आएका छन् । अब कोसङ जाने कि नजाने,भोट कसलाई दिने कि नदिने भन्नेमा अझै निधो गर्न सकेको छैन । जसलाई भोट दिए पनि यस्तै त होला फेरी ?” संसदीय निर्वाचन भनेको स्थानीय तह जस्तो जनताको दैनिकी सरोकार राख्ने भन्दा पनि समग्र रूपमा देशको नीति नियम तर्जुमा गर्ने ठाउँ हो । तर यती बेला उम्मेदवार घरदैलोमा पुग्दा उनीहरूले वडा अध्यक्षले जारी गर्ने जस्तो घोषणा पत्र लिएर मतदाता रिझाउने काममा लागि परेका छन् । उनीहरूले गर्न सक्ने भन्दा पनि जनतालाई छिटो आकर्षण गर्न सक्ने चुनावी मुद्दा लिएर निर्वाचनमा होमिएका छन् । विगत तीस वर्ष देखि निरन्तर देशको शासन सत्तामा हालीमुहाली गर्दे आएका नेताहरूले आगामी निर्वाचनमा आफ्नो दललाई मतदान नगर्ने हो भने देश नै नरहने हो कि भने गरी अभिव्यक्ति दिने गरेका छन् । शनिवार चितवनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई विजय भए मात्रै देशमा राजनीतिक स्थिरता हुने दाबी गरेका छन् । उनले भने “आउने मङ्सिर चार गतेको निर्वाचनमा देशभरिका जनताले गठबन्धनको नेतृत्व अन्तरगत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरी राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्त्वहरू पुरै पराजित हुनेछन् । र, स्थिरता र विकास एउटा नयाँ मार्ग खुल्नेछ । ” यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो पार्टीले निर्वाचनमा बहुमत नल्याए देशले दुर्भाग्य भोग्नु पर्ने दाबी गरेका छन् । कार्तिक १६ गते काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने “ यसपल्ट नेकपा एमाले बाहेक अर्को कुनै राष्ट्रिय शक्ति हुन सक्दैन । त्यो राष्ट्रिय शक्ति निमार्ण गर्न जरुरी छ, देशका लागि एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गरिएन भने एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नु पर्छ । ” जब चुनाव आउँछ तब जनताले पनि पाँच वर्षको दुख र नेताको कुकर्म बिर्सन्छन् र फेरी उही पार्टीलाई नै मत दिएर विजय गराउँछन् । आसन्न संसदीय निर्वाचनले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएको विज्ञहरूको तर्क छ । उनीहरूका अनुसार सीमित नेताको स्वार्थका लागि गठबन्धनका नाममा भोट माग्ने काम भइरहेको छ । त्यसैले आगामी निर्वाचनमा जनतालाई विवेक प्रयोग गर्न सुझाव दिएका छन् । जनताका आवाज सुनिदिने र जनताका दैनिकीलाई संसद् सम्म पु¥याउने गरी काम गर्ने सक्षम जनप्रतिनिधि यो निर्वाचनबाट चुनिनु पर्छ । जनताको सुख दुखमा सहकार्य गर्दै विकास निर्माणलाई गति दिन सक्ने गतिशील र क्षमता वान व्यक्ति चुनिए भने देशको मुहार फेरिन समय लाग्दैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार