नेभिगेशन
समाचार

निर्वाचन प्रचारको नयाँ काइदा, चकलेट भित्र निर्वाचन चिह्न !

रुपन्देही–निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही–३ मा चकलेटमा निर्वाचन चिह्न राखेर प्रचार प्रसार भइरहेको पाइएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटको खोल भित्र दलको निर्वाचन चिह्न छापेर बाँडेका हुन् । लोसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रङ्गको साइकल र उक्त साइकलमाथि हरियो रङ्गको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौँ साथी लेखिएको छ । त्यस्तै चकलेटमा हरियो रङ्गको रुख चिह्नमा रातो रङ्गको स्वस्तिक छाप तथा रातो रङ्गको अक्षरले निर्वाचन चिह्न रुखमा भोट हालौँ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो । भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबन्धनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । यस क्षेत्रबाट ५ दलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् । जिल्ला निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णु ज्ञवालीले चकलेटको खोलमा रुख र साइकल निर्वाचन चिह्न राखेर बाँडिएको भेट्टाएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि आयोगमा लेखी पठाएका छौं, आचारसंहिता उल्लंघन गर्ने जोसुकै भए पनि कारबाही हुन्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार