नेभिगेशन
समाचार

बोटे गाउँलाई अझै निर्वाचनले छोएन

तनहुँ–देशैभरि निर्वाचनमो महोल तातिएको छ । सर्वत्र निर्वाचनकै चर्चा परिचर्चा भइरहेको छ । तर, तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट झन्डै आधा घन्टा हिँडेपछि उत्तरमा रहेको एउटा सानो गाउँमा भने निर्वाचनले अझै छोएको छैन । उम्मेदवारसमेत मत माग्न यो ठाउँमा कहिल्यै पुग्ने गरेका छैनन् । बोटे गाउँ व्यास नगरपालिकाभित्रै पर्दछ । व्यास नगरपालिका–२को पाटनको बोटे गाउँमा उनीहरू माछा मार्ने पुख्र्यौली कामबाट जीविकोपार्जन नभएपछि खेतीपाती गरिरहेका छन् । तर, उनीहरूलाई यसबाट पनि दैनिकी चलाउन कठिन छ । उनीहरू पटकपटक मतदान गरे पनि उम्मेदवार को हो थाहै पाउँदैनन् । आफ्ना घरसम्म उम्मेदवार आउने र आफ्ना कथाव्यथा सुन्ने काम कहिल्यै नभएकोमा उनीहरूको गुनासो छ । यो बस्तीमा निर्वाचनमा कसलाई मत दिनेबारे कसैको चासो कहिल्यै हुँदैन । बरु जीविकोपार्जनकै चिन्ताले बोटेलाई रातदिन पोलिरहेको छ । पटक–पटक निर्वाचनमा भाग लिएको बताउने यहाँका बोटेहरू देशमा व्यवस्था परिर्वतन भए पनि आफ्नो जीविकोपार्जनमा केही सुधार नभएकोमा चित दुखाउँ छन् । ‘हामीले धेरै ठूला कुरा मागेका थिएनौं, सीप, शिक्षा र बीउविजन मात्रै भइदिए हुन्थ्यो, तर जससलाई भोट दियौं, उसले पनि मतलब गरेन’, व्यास नगरपालिकाका–२ का यमबहादुर बोटेले भने । पारिवारमा छोराछोरीलाई राम्रो पढाउन नसकिएकाले अहिले होटलमा र गाडी सफाइका काम कतिपय बोटेले गर्छन् । बोटे बालबालिकालाई सरकारी विद्यालयमा पठाए पनि अधिकांशले विद्यालय तह पनि पास गर्न सकेका छैनन् । निर्वाचनले अन्यत्र मतदातामा चासो पैदा गराए पनि उम्मेदवार को–कोछन् के–के विकास गर्ने भनेका छन्, बोटेहरूलाई ज जानकारी छ न त चासो नै । ‘यहाँबाट भोट पाएर जितेर जानेले हामीलाई वास्ता गरेनन् । हाम्रो अवस्था सुधार भएन’, स्थानीय खड्क बोटेको भनाइ छ । दुःख गरेर एउटा छोरालाई १२ कक्षासम्म पढाएका उनले छोराका लागि सीप र रोजगार आवश्यक रहे पनि कहाँ गएर कसलाई भन्ने चिन्तामा छन् । ‘हाम्रो चेतनास्तर कमजोर देखेर दबाउने काम भयो । निर्वाचनको केही दिनअगाडि यो बस्तीमा पार्टीका नेता–कार्यकर्ता आएर भोज गर्ने र आश्वासन बाँडेर भोट हाल्न लगाउँछन्,’ सड्क बोटले भने । निर्वाचनका बेला नेताहरू आउँछन्, उनीहरूको कुरा सुन्छन्, सबै गरिदिन्छु भन्छन् तर, निर्वाचन सकिएपछि उनीहरू फर्केर आउँदैनन र वास्ता पनि गर्र्दैनन् । स्थानीय दल र नेताहरूले बोटेका समस्यालाई समस्या नै नदेख्ने गरेको स्थानीयको साझा गुनासो छ । परिवार गतिलोसँग पाल्ने र बालबच्चा राम्रा विद्यालयमा पढाउने उनीहरूको सपना सपनामै सीमित छ । रातदिन परिश्रम गरे पनि परिवार पाल्नै सकस छ उनीहरूलाई । पुस्तौंदेखि यो क्षेत्रका बोटेहरूको जीवनस्तर उठाउन कसैबाट पहल भएको पाइन्न । ‘केही नेताले आश्वासन बाँडेर भोट लगे । तर त्यो पूरा नगरे पछि अब नेताहरूलाई आफ्ना कथाव्यथा भन्न पनि मन लाग्दैन’, खड्क बोटेले दुखेसो पोखे । पढेकालाई रोजगार र अरूलाई सीप अनि खेतीपाती गर्नेलाई बीउविजन दिएमा थोरै भए पनि सहयोग हुने सोमबहादुर बोटेको भनाइ छ । ‘उम्मेदवार नै आएमा हामी यी कुरा देऊ भनेर भन्थ्यौं तर अहिलेसम्म ५ पटक मतदान गरे पनि उम्मेदवार नै देख्न पाइएको छैन । हामीकहाँ भोट माग्न पार्टीका कार्यकर्ता मात्रै आउँछन्’, खड्क बोटेले भने । आदिवासीअन्तर्गत अति सीमान्तकृत समुदायमा पर्ने बोटे जाति देशभर १५ हजारको हाराहारीमा छन् । तनहुँमा ३ हजारको संख्यामा रहेका आदिवासी जनजाति महासंघले जनाएको छ । तनहुँको रिसिङ गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिकामा बोटे समुदायको बसोबास छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार