नेभिगेशन
समाचार

डोल्पा र सल्यानको ‘ग्राउण्ड रियालिटि’

डोल्पा–आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी कर्णालीमा पनि निकै बढेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला छन् भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेस ३३ हजार ६१६, माओवादी २६ हजार ७१३, एमालेको २६ हजार ६२८ र नेकपा (एकीकृत समाजवादी)को ९ हजार ४६७ मत छ । १ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन् । २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गरेका उनले यसपटक पनि आफूले निर्वाचन जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको दाबी गरे । एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गरे । डोल्पामा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जित हुनेमा ढुक्क छन् । २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य जितेका उनले तेस्रो पटक पनि आफ्नो जित सुनिश्चित रहेको जनाए । डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा (माओवादी केन्द्र)को ४ हजार ८५५, एमालेको ४ हजार ५४५, कांग्रेसको ३ हजार ६९ र नेकपा (एकीकृत समाजवादी)को १ हजार ३३४ छ । डोल्पामा २२ हजार ४४० मतदाता छ । बुढाका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकाले जित आफ्नो पोल्टामा पर्ने दाबी गर्छन् । ‘गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु’, उनले भने, ‘मतदाताले मेरो काम हेर्न चाहिरहेका छन् ।’ प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अङ्गतकुमार बुढा, नेकपा माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन् । प्रदेशसभामा पनि आ–आफ्नै दाबी सल्यानको प्रदेशसभा (क) मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट भीमप्रकाश शर्मा र एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन् । यस्तै, प्रदेश (ख) मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजङ्ग शाहले टक्कर दिइराखेका छन् । शाह २०७४ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । यद्यपि कांग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जिन सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौती बढेको छ । त्यसको फाइदा लिएर आफू जित्ने दाउमा भने एमाले छ । सल्यान (क) मा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन् । त्यस्तै (ख) मा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १–१३ र वनगाड–कुपिण्डे नगरपालिकाका ९–१२ वडा पर्दछन् । यसैगरी डोल्पा (क)मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर शाही र एमालेका शेरबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन् । एक्लाएक्लै लड्दा जित्न सक्ने क्षमता बनाएको कांग्रेसलाई गठबन्धनले जित सहज बनाएको उनको दाबी छ । एमालेका बुढाले भने जस्तोसुकै गठबन्धन भए पनि आफ्नो जित सुनिश्चित हुने जिकिर गर्छन् । त्यस्तै डोल्पा (ख) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी प्रतिस्पर्धा छन् । राप्रपाका बौद्धसिंह कठायतलाई प्रतिस्पर्धी मानिए पनि शाहीले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । एमालेका बैजीले जनताले आफूलाई अगाडि सार्ने दाबी गर्छन् । डोल्पा प्रदेश (क) मा काइके, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका तथा ठूलीभेरी नगरपालिका रहेका छन् भने प्रदेश (ख)मा त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका रहेका छन् । निर्वाचन क्षेत्र १ भएको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दल, नेकपा (एमाले), राप्रपा, नेकपा (माले) र २ स्वतन्त्र गरी ६ र डोल्पामा १ स्वतन्त्रसहित ५ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । सल्यानबाट (क) र (ख) प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ स्वतन्त्रसहित ११ र डोल्पा (क)र (ख) प्रदेशसभा सदस्यका ७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार