नेभिगेशन
समाचार

शर्मालाई जित्नु पर्ने, खरेललाई साख जोगाउने चुनौती

बिर्तामोड - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू घर दैलो अभियानमा छन् । झापा क्षेत्र नं. १ मा पनि उम्मेदवारहरू घरदैलो अभियानमा छन् । प्रतिनिधिसभाको लागि झापा क्षेत्र नं. १ बाट दर्जन बढी उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धामा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवार रहेका छन् । २०४८ साल पछि यस क्षेत्रमा कम्युनिस्ट पार्टीले नै जितेको इतिहास छ । अहिलेसम्म तीन पटक नेकपा एमाले र दुई पटक नेकपा माओवादीले जितेको देखिन्छ । काँग्रेसले १ पटक यस क्षेत्रबाट जित हासिल गरेको छ । अहिलेको चुनावमा कम्युनिस्टको विरासत जोगाउन नेकपा एमालेका उम्मेदवार अग्नि खरेल लागि परेका छन् भने दुई पटक उपविजेता बनेका विश्वप्रकाश शर्मालाई जसरी पनि जित्नु पर्ने चुनौती रहेको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन भएपछि नेकपा माओवादीका राम कार्कीले शर्मालाई पराजित गरेका थिए । शर्माका लागि अहिले अवसर आएको छ । अहिले नेकपा माओवादीले र नेकपा एकीकृत समाजवादीले समेत विश्व प्रकाश शर्मालाई साथ दिएको छ । २०७४ सालमा एमाले फुटेको थिएन । अहिले एमाले फुटेर बनेको एकीकृत समाजवादीले शर्मालाई साथ दिएपछि धेरैले शर्मा जित्ने अड्कलबाजी गरेका छन् भने राप्रपाको समर्थन पाएका कारण एमालेले आफ्नो विरासत जोगाउन सक्ने बारे पनि उत्तिकै चर्चा भएको पाइन्छ । काँग्रेसका स्थानीय नेताका अनुसार शर्माले ठुलो मतान्तरले जित्ने छन् । नेकपा एमालेले टिकट दिने बेलामा क्षेत्र नं. २ बाट अग्नि खरेललाई ल्याएपछि रुष्ट भएको एमालेका मतदाताले गठबन्धनलाई नै मतदान गर्ने उनीहरूको बुझाइ छ । तर, झापा १ बाट एकल सिफारिसमा परेका रिवन कोइरालालाई प्रदेशमा सम्मानजनक स्थान दिने भन्दै एमालेले फकाएका कारण एमालेको रुष्ट भन्ने पक्ष नभएको एमाले नेताहरू बताउँछन् । प्रतिनिधिसभा उम्मेदवार अग्नि खरेलले आफू झापाकै भएको, स्थानीयसँग घुलमिल भएकोले आफ्नो जित सुनिश्चित भएको बताए । उनले एमालेको स्थानीय तहको मतलाई आधार मान्ने हो भने पनि आफ्नो जित सुनिश्चित भएको बताए । उनका अनुसार लाल किल्लाका रूपमा परिचित झापाको क्षेत्र नं. १ मा कम्युनिस्ट विरासत जोगाउन खरेललाई समस्या छैन । काँग्रेसका उम्मेदवार शर्मालाई आफ्नै पार्टी भित्रको किचलो मिलाउनु पर्ने बाध्यता रहेको छ। काँग्रेसको १४औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला र शर्मा निकट नेता तथा कार्यकर्ताहरू जिल्ला तहमा छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका कारण अहिले पनि त्यो समस्या बाँकी रहेको धेरैले आकलन गरेका छन् । त्यस बेला शर्माको प्यानललाई सिटौलाको प्यानलले नराम्ररी पराजित गरेको थियो। त्यसको असर स्थानीय तहको निर्वाचनमा पनि देखियो। शर्माको निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा एमाले पहिलो पार्टीको रूपमा फेरि उदय भएको स्थानीयहरू बताउँछन् । आफ्नो स्थानीय क्षेत्रको लाभ शर्मालाई रहेको भए पनि परम्परागत जनमतका हिसाबले एमाले बलियो रहेकोले यसको लाभ भने खरेलले पाउने अड्कलबाजी गरिएको छ। शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठुलो जनमत आफूतिर तान्नुपर्ने चुनौती थपिएको छ। मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरका ९ र १० नम्बर बुद्ध शान्ति गाउँपालिकाका चार वटा वडा ४, ५ , ६, ७ समेटिएको यो क्षेत्रमा १ लाख २० हजार ३७५ मतदाता छन्। स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार २ सय ३२ मत छ भने काङ्ग्रेससँग २४ हजार ५९ मत छ। राप्रपासँग पाँच हजार ९ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार ९ सय ५, एकीकृत समाजवादीसँग एक हजार २ सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २ सय ६२ मत छ। २०७४ सालको निर्वाचनलाई हेर्ने हो भने स्थानीय चुनावको गणितले काम नगर्ने देखिएको छ । त्यस बेला काँग्रेसको २४ हजार हाराहारी मात्रै स्थानीय तहको निर्वाचनमा मत पाएको थियो भने प्रतिनिधिसभामा ३३ हजारभन्दा बढी मत आयो। यदि त्यो गणितले काम गर्थ्यो भने मतान्तर ज्यादै ठुलो हुनु पर्ने स्थानीयको विश्लेषण छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार