नेभिगेशन
समाचार

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई प्रमुख आयुक्तको निर्देशन

चितवन–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई उहाँले निर्देशन दिए । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सत्य सेवा सुरक्षणमको सङ्कल्पसहित प्रहरीले मतदानस्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताए। उनले भने, “मङ्सिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर लाग्नुहोस् ।” कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिएको स्पष्ट गर्दै उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गरे । “मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर कोही आत्तिनु पर्दैन”, उनले भने । थपलियाले थप्नुभयो, “ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई उत्साहका साथ सुरक्षाको प्रत्याभूति गराउनुस् ।” प्रमुख आयुक्त थपलियाले मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपाइँका विरुद्धको कुदृष्टि हो भने । उनले भने, “त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस् ।”  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार