नेभिगेशन
समाचार

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यकःश्रेष्ठ

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । उनले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने धारणा राखे । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समृद्धिका लागि गठबन्धनमा केन्द्रीकृत हुन उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे । “राजनीतिकरूपमा हामी अगाडि बढेका छौँ”, उपाध्यक्ष श्रेष्ठले भने, “प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने छ, सँगसँगै सङ्क्रमणकालीन न्याय निरूपण पूरा गर्नुछ, त्यसका लागि पनि हामी एकीकृत हुनुपर्छ ।” हिजोको सङ्घर्षरत पक्ष र शान्ति प्रक्रियाको पक्षबीचको एकता अर्थपूर्ण समेत रहेको उनको भनाइ छ । जनताको आवश्यकता पूरा गर्न एकीकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उनको दाबी छ । तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउँदै उनले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने उनको तर्क छ । प्रशिक्षण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता नारदमणि पौडेल, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सूर्य सुवेदी, नारायण दाहाल, नेपाली कांग्रेस क्षेत्रीय सभापति लालबहादुर दवाडी, माडी नगर सभापति कोमलनाथ भुसाल, माओवादी केन्द्र माडी नगर अध्यक्ष प्रभु महत्तोलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार