नेभिगेशन
समाचार

आसन्न निर्वाचनमा दलहरूको मत के होला?

 काठमाडाैँ – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै आगामी निर्वाचनमा दलहरूको मत के होला भन्ने धेरैको चासो छ ।

अघिल्लो निर्वाचनमा दलहरूले पाएको मत यथावत् रहला वा नरहला भन्ने सबैको कौतुहलताको विषय बनेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनले झन्डै दुई तिहाइ निर्वाचन क्षेत्रमा जितेको थियो भने लोकतान्त्रिक गठबन्धनले मुस्किलले एक तिहाइ मात्रै निर्वाचन क्षेत्रमा जितेको थियो ।

०७४ सालमा बनेको गठबन्धन अवस्था यस्तो थियो 

निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनमा  नेकपा एमालेले प्रत्यक्ष तर्फ ८० सिट जितेको थियो भने समानुपातिक तर्फ ४१ सिट जित्दै दुवै प्रत्यक्ष र समानुपातिक तर्फमा पहिलो दल बनेको थियो । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ३६ सिट  जितेकोमा समानुपातिक तर्फ १७ सिट जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्युठानमा जित हात पारेको थियो । अघिल्लो निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, हालको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बाम गठबन्धन बनेको थियो । 

वाम गठबन्धनलाई चुनौती दिन त्यतिबेला अर्का तर्फ, नेपाली कांग्रेस, राप्रपा, तत्कालीन राजपा र सङ्घीय समाजवादी लगायतका दलको अर्का गठबन्धन बनेको थियो । लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसले २३ सिट जितेको थियो भने, समानुपातिक तर्फ ४० सिट जितेको थियो ।

यस्तै तत्कालीन राजपाले प्रत्यक्ष तर्फ ११ सिट जितेकोमा तत्कालीन सङ्घीय समाजवादीले १० सिट जितेको थियो । दुवै मधेस केन्द्रित दललाई समानुपातिक तर्फ ६/६ सिट प्राप्त भएको थियो । लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको भए पनि राप्रपाले गठबन्धनबाट कुनै लाभ लिन सकेन ।

न त राप्रपाले थ्रेस होल्ड नै कटाउन सक्यो । बरु झापाका अन्य क्षेत्रमा वाम गठबन्धनलाई समर्थन गर्दा झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजय भए । ०७४ सालमा वाम गठबन्धनले राप्रपालाई मात्रै होइन तत्कालीन समयमा राजपाका राजेन्द्र महतोलाई पनि समर्थन गरेको थियो ।  यस्तै गोरखामा लोकतान्त्रिक गठबन्धनले तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईलाई समर्थन गरेको थियो । 

यसपालि समीकरण फेरियो  यसपालि भने अघिल्लो निर्वाचनको भन्दा दलीय समीकरण र राजनीतिक परिस्थिति बदलिएको छ । हिजो वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचन लडेका सबै जसो दलहरू यती बेला लोकतान्त्रिक वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । 

तत्कालीन वामपन्थी धारको एमाले बाहेकका दलहरू अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी छन् । एमाले बाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा यती बेला काँग्रेस नेतृत्वको गठबन्धनमा सहभागी छन् । अघिल्लो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको जसपा यसपालि एमाले नेतृत्वको गठबन्धनमा सहभागी छ । सत्ता गठबन्धनले जसपालाई सिद्ध्याउने षड्यन्त्र गरेको भन्दै निर्वाचनको संघारमा उपेन्द्र यादवले केपी शर्मा ओलीसँग गठबन्धन गरेका हुन ।

अघिल्लो निर्वाचनमा का‌ग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको राप्रपाले यसपालि एक्लै सबै भन्दा धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ  । यद्यपि झापा, रूपन्देही र बाँकेमा भने राप्रपाले एमालेसँग गठबन्धन गरेको छ । तर यसलाई एमाले राप्रपाले गठबन्धन नभई चुनावी तालमेल मात्रै भएको प्रतिक्रिया दिएका छन् । हिजो लोकतान्त्रिक गठबन्धनका नेताहरू मध्ये अर्को प्रमुख नेता थिए राप्रपाका तत्कालीन अध्यक्ष कमल थापा ।

महाधिवेशनमा पराजित भए पछि राप्रपा परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थापा पनि अहिले मकवानपुर बाट एमालेको चुनावी चिन्ह सूर्य चिन्ह लिएर निर्वाचन लड्दै छन् । 

त्यसैले आगामी निर्वाचनमा पुरानै जनमत यथावत् रहनेमा थुप्रै आशङ्का जन्मिएका छन् । यद्यपि एमालेले भने आफूहरूले पहिलाको भन्दा पनि राम्रो मत ल्याउने दाबी गरेको छ । निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरेको एमालेले निर्वाचन पछि बहुमतका बाबजुद पनि राप्रपा र जसपालाई साथमा लिएर सरकार बनाउने यस अघि नै उद्घोष गरेको छ ।

झापामा भएको एमाले राप्रपाको संयुक्त भेलामा ओलीले भने “ आउँदो निर्वाचनबाट नेकपा एमालेले बहुमत ल्याउँछ, कसैले रोक्न सक्दैन । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरू सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । ”

एमालेले एकल बहुमत ल्याउने दाबी गरेकै बेला सत्ता गठबन्धनका नेताहरूले भने अगामी निर्वाचन पछि एमाले पत्ता साफ हुने दाबी गरेका छन् । सत्ता गठबन्धनका नेताहरूले आगामी निर्वाचनबाट गठबन्धनको स्पष्ट बहुमत आउने र गठबन्धनकै सरकार बन्ने प्रतिक्रिया दिएका छन् । 

“हामी मिलेर निर्वाचन लडेका छौँ । निर्वाचनमा गठबन्धनको स्पष्ट बहुमत आउँछ । त्यसपछि हामीले फेरी मिलेर सरकार बनाउँछौ । त्यसमा कुनै तलमाथि हुँदैन । ” नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ भन्छन् ।

दुवै गठबन्धनका नेताहरूले आफूहरूको जित सुनिश्चित भएको दाबी गरे पनि घटनाक्रम उनीहरूले भने जस्तो छैन । लोकतन्त्र र प्रजातन्त्रका नाममा दलहरूले अप्राकृतिक गठबन्धन बनाएर निर्वाचन लडेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । उनीहरूलाई मतदाताले उनीहरूले भनेकै आधारमा मतदान गर्छन् भन्न सकिँदैन । 

पुरानो गठबन्धन भत्कँदा स्थानीय तहमा यस्तो परिणाम आयो

हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पुरानो जनमतलाई उल्टाइदिएको छ । ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र काँग्रेस दोस्रो शक्ति बनेका थिए । तर यसपालिको निर्वाचनमा भने काँग्रेस दोस्रो बाट पहिलो दल बन्यो भने एमाले पहिलोबाट दोस्रो दल बन्यो । स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ तहका प्रमुख जित्दा एमालेले दुई सय ६ पालीका जितेको छ । 

स्थानीय तहमा पहिलो बनेको एमाले संसदीय निर्वाचनमा पनि पहिलो दल बनेको थियो भने कांग्रेस दुवै निर्वाचनमा दोस्रो दल बनेको थियो । स्थानीय तह निर्वाचनकै आधारमा संसदीय निर्वाचनको मत परिणाम पनि यस्तै हुन्छ त भन्न सकिँदैन । तर स्थानीय तहको मत परिणामले हालसालै हुने संसदीय निर्वाचनलाई पक्कै प्रभाव पार्छ । 

माओवादीले पनि पहिलाको भन्दा यसपालिको स्थानीय निर्वाचनमा आफ्नो केही शक्ति सुधार गर्‍यो । मधेस केन्द्रित दलहरू मधेस प्रदेशमै कमजोर बने । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले २५ र लोकपाले १४ मात्रै स्थानीय तह जितेका छन् ।

जनमत  पार्टीले जम्मा दुई स्थानीय तहको प्रमुख जितेको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले एउटा मात्रै पालिका जितेको छ ।

जबकि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा तत्कालीन सङ्घीय समाजवादी फोरमले ३४ स्थानीय तहको प्रमुख जितेको थियो भने तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ वटा स्थानीय तहको प्रमुख जितेका थिए । मधेस केन्द्रित दल विभाजित हुँदा त्यसको प्रत्यक्ष फाइदा  एमालेलाई पुगेको छ । त्यसैले आगामी निर्वाचनमा पहिलाको मत यथावत् नहुने राजनीतिक विश्लेषकहरूको अनुमान छ । 

“अघिल्लो निर्वाचनको मत जोगाउन कम्युनिस्ट दललाई सम्भव छैन, यो तितरबितर को अवस्थामा छ । प्रस्ट कुरा भन्नु पर्दा नेपाली कांग्रेसको विगतमा भन्दा धेरै भारी तरिकाले सिफ्ट हुन्छ, जुन हिजो नेपाल कम्युनिस्ट पार्टीको थियो । यता कम्युनिस्ट पार्टीको मत कमजोर हुन्छ । ” — राजनीतिक विश्लेषक डा.प्रेम शर्मा भन्छन् ।

पार्टी विभाजन भएको र राजनीतिक मुद्दा पनि गुमाउँदै गएकाले एमालेलाई पुराना सिट जोगाउन चुनौती छ । कम्युनिस्ट पार्टी विभाजन हुँदा र वामपन्थी धारको अर्को हिस्सा सहयात्री हुँदा कांग्रेसलाई आगामी निर्वाचन धेरै सहज बनेको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेता एमालेमा समाहित हुँदा माओवादीले प्रत्यक्ष तर्फका सिट जोगाउन सके पनि समानुपातिक तर्फ भने उसको मत घट्ने देखिएको छ ।

साङ्गठनिक हिसाबले कमजोर मानिएको एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा ग्रिन जोनमा देखिएका छन् । भक्तपुरको कम्तीमा पनि क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीले जित्ते स्पष्ट आधार देखिएका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनको आगमनसङै विगतको भन्दा राप्रपाको शक्ति दरो हुने धेरैको अनुमान छ । 

यता स्थानीय तहको मत परिणामले हौसिएर स्वतन्त्र उम्मेदवारी दिनेहरूको पनि होड चलेको छ । पुराना दलको विरासत भत्काउन नयाँ दलको समेत जन्म भएको  छ । उनीहरूले ठुला दलको मत खोस्ने पक्का छ । यद्यपि मङ्सिर चार गते मतदाताले हालेको मतगणना नगर्दा सम्म भने कसको अवस्था कस्तो हुन्छ अहिल्यै भन्न सकिने अवस्था छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार