नेभिगेशन
समाचार

इलाम–२मा त्रिकोणात्मक प्रतिस्पर्धा

मङ्गलबारे–नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम–२ बाट आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनी पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । नेम्वाङले २०५६ देखि लगातार निर्वाचन जित्दै आएकामा गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे ९ हजार मतान्तरले पराजित गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा इलाम–२ मा वडाध्यक्षको मत एमालेकोभन्दा कांग्रेसको बढी देखिन्छ । त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ । उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार ९७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार ५२७ छ । नेकपा माओवादी केन्द्रको २ हजार ७१७, जसपाको ५५४, एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत छ । नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी छन् । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आएको समाजसेवीका रुपमा परिचित छन् । खड्का प्रतिनिधिसभासदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै छन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका हुन् । यसअघि २०७४ को निर्वाचनमा इलाम–२ कै (क) बाट प्रदेशसभामा प्रतिस्पर्धी बनेका उनले मुख्य प्रतिस्पर्धीसँग पराजित भएका थिए । एमालेका राम रानासँग पराजित खड्काले यसपटक प्रतिनिधिसभामा विजय हासिल गर्ने जिकिर गर्दै आएका छन् । यो क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसबाट र २ मा माओवादी केन्द्रबाट उम्मेदवार उठाइएको छ । कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष भएका नेम्वाङले गत निर्वाचनमा ३६ हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांगे्रसका उम्मेदवार केशव थापाले २६ हजार ८६५ मत प्राप्त गरेका थिए । नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ । यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत यसै निर्वाचन लड्दैछन् । सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्म गुरुको बसोबास छ । इलाम–२ मा १ लाख १५ हजार ५३५ मतदाता छन् । जसमा ५८ हजार ७८४ महिला, ५६ हजार ५५६ पुरुष र अन्य २ छन् । निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभातर्फ २ स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ को (क) मा आठ र (ख) मा १ स्वतन्त्रसहित ८ उम्मेदवार छन् । एमालेसँग चुनावमा तालमेल गरेको जनता समाजवादी पार्टीका तर्पmबाट समेत इलाममा मनोनयन दर्ता भएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार