नेभिगेशन
समाचार

खानेपानी समस्या समाधान अबको मेरो कार्यभार : प्रकाशमान सिंह

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो अबको कार्यभार खानेपानी समस्या समाधानको भएको बताएका छन् । गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका १० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ मा अहिले खानेपानीको समस्या भएको र त्यो समाधान गर्ने आफ्नो कार्यभार भएको बताएका छन् ।

प्रकाशमानले भने, ‘घरदैलो गर्दा धेरै जनताले पानीको समस्या भयो भन्नु भएको छ, मैले त्यसैलाई आगामी कार्यभार ठानेर काम गर्नेछु ।’ खानेपानीको समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले बताए।

काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार ३ वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन्। बिहीबार बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका थिए । गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको भन्दै प्रकाशमानले अहिले पनि त्यो कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार