नेभिगेशन
समाचार

मोरङ–३ (क)मा ४ मङ्सिर मै मतदान

काठमाडौं–निर्वाचन आयोगले ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ–३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । मतदान भने ४ मङ्सिरमै हुनेछ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । अब नेपाली कांग्रेसले नयाँ उम्मेदवार खडा गर्नुपर्नेछ । आयोगको निर्णयअनुसार २४ र २५ कात्तिकमा उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २३ असोजदेखि निर्वाचन कार्यक्रम सञ्चालन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान भइसकेको अवस्था रहेको आयोगले जनाएको छ । मनोनयनकै दिनदेखि निमोनियाका कारण बिरामी परेका थापा नोबेल मेडिकल कलेजमा उपचाररत थिए । उपचारकै क्रममा डेंगु संक्रमण पनि भएपछि उनको बुधबार निधन भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार