नेभिगेशन
समाचार

चितवन कांग्रेसमा एकपछि अर्को विवाद, सभापति र सचिवको आ-आफ्नै वक्तव्य

काठमाडौँ - नेपाली कांग्रेस चितवनमा एकपछि अर्को विवादहरु सतहमा आइरहेको छ । प्रनितिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले टिकट नपाएर रिसाएका चितवनका कांग्रेसका नेताहरु कार्यकर्ताहरु अहिले आफ्नो पार्टीको जिल्ला सभापति को थिए वा थिएनन् भन्ने विषयमा विवाद निकालेर झगडा गर्न थालेको छ ।

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस चितवनमा पूर्वसभापतिको विषयलाई लिएर सभापति र सचिवले आ-आफ्नो विज्ञप्ति जारी गरेपछि चितवन कांग्रेसको अर्को विवाद सहतमा आएको छ । आफ्नो पार्टीले चितवनमा टिकट नपाएको भन्दै चितवनका कांग्रेसीहरु सत्तागठबन्धनको विरोधमा छन् ।

जिल्ला सभापति राजेश्वर खनालले पूर्वसभापतिहरु कृष्णलाल सापकोटा र विकास कोइराला पूर्वसभापतिको रेकर्डमै नरहेको भन्दै उनीहरु बाहेकको सूचीसहितको बक्तव्य जारी गरेपछि कांग्रेसभित्र कलह बढेको हो।

सभापतिको बक्तव्य लगत्तै प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सचिव ध्रुवराज पोखरेलले कांग्रेसले कोइरालालाई २०७६ चैत ३ गते नै पूर्वसभापति स्वीकारिसकेको दाबी गरेर अर्को विज्ञप्ति जारी गरेका छन्। निर्वाचनको बेलामा सभापति खनालले जारी गरेको विज्ञप्तिले आफूलाई गम्भीर बनाएको उनले बताएका छन्।

कांग्रेसका पूर्वसभापति विकास कोइरालाले पूर्वसभापतिको हैसियतमा बुधबार दिउँसो नारायणगढमा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दै छन्। त्यही विषयमा सभापति खनालले कोइरालाको पूर्वसभापति भएको रेकर्ड नभएको भन्दै कार्यक्रममा नजान कार्यकर्तालाई आग्रह गरेका थिए ।

२०७० सालको संबिधानसभाको निर्वाचनमा तत्कालीन चितवन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पार्टीका केन्द्रीय सभापति सुशील कोइरालाको विरुद्ध बागी उम्मेदवारी दिएपछि तत्कालीन जिल्ला सभापति कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो।

उनलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको थियो। पार्टीले कारबाही फुकुवा नगरेपनि चितवन कांग्रेसभित्र विकास कोइरालाको राम्रो प्रभाव छ ।

पूर्वसभापतिहरुलाई नस्वीकार्ने जिल्ला सभापति र स्वीकार्नुपर्ने जिल्ला सचिवको बक्तव्यसँगै चितवनका कांग्रेस कार्यकर्ताहरु २ पक्षमा विभाजित भएका छन्। मंगलबारदेखि सामाजिक सञ्जालमा एक पक्षले अर्को पक्षलाई गाली गर्नेक्रम बढ्दै गएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार