खरेललाई जिताउन ७५१ सदस्यीय निर्वाचन परिचालन समिति

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल (आइपी)लाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

बाँके निर्वाचन क्षेत्र ३ ९१० बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ (१) को पार्टी समितिको बैठकले उक्त निर्वाचन परिचालन समिति गठन गरेको नेता खरेलले जानकारी दिए ।

खरेलका अनुसार, उक्त पार्टी समितिका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । समितिको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन् ।

त्यसैगरी, बैठकले अन्य पार्टीहरुसँग वार्ता र सम्वाद गर्नका लागि कृष्णबहादुर घर्तीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीको सदस्यहरूमा राजमोहन चौधरी, पदम सिंह ठकुरी, आकाश सन्ज्याल र रिमलाल गिरी रहेका छन्।

बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जना चौधरी (अर्पणा), उषा पुन (पार्वती), नरेन्द्र न्यौपाने तथा प्रदेश कमिटीका सदस्य तिर्थराज ज्ञवाली, परमानन्द वर्मालगायतको उपस्थिति रहेको नेता खरेलले जानकारी दिए ।

उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले आइपी खरेललाई आधिकारिक टिकट दिएर उम्मेदवार बनाएको हो। तर, केहीले भने स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई पार्टीको उम्मेदवार भनेर चर्चा गरेका थिए। केहि दिनअगाडि मात्रै सुनार माओवादी पार्टी प्रवेश गरिसकेका छन। माओवादीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पुर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर बिक (तुफान)को उपस्थितिमा सुनार पार्टी प्रवेश गरेका थिए।

सो क्षेत्रबाट २०७४ को निर्वाचनमा आईपी खरेल बिजयी बनेका थिए। अहिलेको निर्वाचनमा पनि पार्टीले सोही निर्वाचन क्षेत्रबाट टिकट दिएर उम्मेदवार बनाएपछि खरेल निर्वाचनमा होमिएका हुन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्