रोनाल्डोको पुनरागमनमा गोल गर्दा म्यानचेस्टर युनाइटेड विजयी

बुधबार, मंसिर ७, २०७९

एजेन्सी - क्रिस्टियानो रोनाल्डोले पुनरागमनमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले युरोप लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० ले पराजित गरेको छ।

टोटनहमविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न अस्वीकार गरेपछि गत साता चेल्सीविरुद्धको खेलमा ड्रप भएका रोनाल्डो युरोपा लिगका लागि टिममा फर्केका थिए।

रोनाल्डोले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको ३-० को जित पक्का गरे। रोनाल्डोको यव ७०१औं करियर गोल हो।

त्यसअघि डिएगो डालोटले ४४औं र मार्कुस रासफोर्डले ६५औं मिनेटमा गोल गरे। जितपछि समूह ई युनाईटेडले ५ खेलबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ। रियल सोसिडाड १५ अंकसहित समूह ईको शीर्ष स्थानमा छ।

युनाइटेडले जित हात पार्दा अर्को इंग्लिस क्लब आर्सनलले भने पराजित भएको छ। समूह ए को खेलमा आर्नल डच क्लब पीएसभीसँग २-० ले पराजित भएको हो । पीएसभीका लागि जोइ भिरमान र लुक डी जोङले गोल गरे।

पराजित भएपछि आर्सनलले समूह विजेता बन्दै नकआउट चरणमा पुग्ने अवसर गुमाएको छ। बराबरीले पनि आर्सनल समूह विजेता बन्ने पक्का थियो। तर अब अन्तिम खेल कुर्नुपर्ने भएको छ। आर्सनल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ भने जितसँगै पीएसभी समान खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्