नेभिगेशन
समाचार

काठमाडौँको चुनावी चर्चा:  कसकाे सम्भावना कति  ? 

काठमाडौँ – संसदीय निर्वाचनको मिति नजिकिएसँगै सङ्घीय राजधानी समेत रहेको काठमाडौँ जिल्लाको मत परिणाम कस्तो आउला भन्ने देशभर चासोको विषय बनेको छ । दश निर्वाचन क्षेत्र रहेको काठमाडौंमा, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई विजय बनाएका काठमाडौँ वासीले फेरी पनि स्वतन्त्र उम्मेदवारलाई नै मत देलान् अथवा दललाई ? भन्ने विषय यती बेला टोल टोल देखि चिया पसल सम्म छलफल र चर्चाको विषय बनेको छ । 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको जवरजस्त उदयले हौसिएर धेरैले यसपालि स्वतन्त्र उम्मेदवारी दिएको भए पनि धेरैजसो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सबैले आआफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । नेकपा एमालेलाई पुराना सिट यथावत् राख्न चुनौती देखिएको छ भने सत्ता गठबन्धनका दलहरू दश वटै निर्वाचन क्षेत्रमा जित हात पार्ने दाउमा छन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, ,३ मा कृष्ण राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजय भएका थिए । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका काठमाडौँमा १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसी विजय भएका थिए । 

पहिला सबै कम्युनिस्ट दल एकातिर र सबै लोकतान्त्रिक दल अर्कातिर भएर निर्वाचन लडेका थिए । तर अहिले परिस्थिति बदलिएको छ । पहिला एकले अर्काका लागि मत मागेका दलहरू अहिले एकले अर्काका विरुद्धमा मत मागिरहेका छन् । अहिले काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन बनेको छ । अर्का तिर एमाले, जनता समाजवादी र केही ठाउँमा राप्रपा, राप्रपा नेपाल, जनता प्रगतिशील पार्टी लगायतको अर्का गठबन्धन बनेको छ । 

एमालेले काठमाडौँका सबै क्षेत्रमा उम्मेदवारी दिएको छ भने कांग्रेसले १, ३, ४, ५, ६, र १० नं क्षेत्रमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले २, ३, ७, ९ र १० नं क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनले साझा उम्मेदवार दिने गठबन्धनले निर्णय गरे पनि क्षेत्र नं २ र १० मा भने काँग्रेस र माओवादी केन्द्र दुवैका नेताहरूले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै दलहरूबीच सहमति जुट्न नसक्दा यसको फाइदा एमालेलाई पुग्ने गठबन्धनकै नेताहरूको भनाई छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा काठमाडौँ क्षेत्र नं ८ बाट जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

काठमाडौंमा ककसको भिडन्त हुँदै छ ? 

यसपालिको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, एमालेका रमेश पौडेल, पूर्व प्रहरी रमेश खरेल लगायतका नेता तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् , । यद्यपि यहाँ मुख्य प्रतिस्पर्धा भने काँग्रेस नेता सिंह र राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र बिच हुने सम्भावना बढी छ ।

काठमाडौँ क्षेत्र नं २ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले उम्मेदवारी दिएकी छन् । यो क्षेत्रमा ०७४ को निर्वाचनमा एमालेबाट माधव कुमार नेपालले निर्वाचन जितेको भए पनि यसपालि भने सिट बाँडफाँट गर्दा उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेको हो । एमालेका तर्फबाट मणिराम फुयाँलले उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ बाट एमालेका तर्फबाट कृष्णबहादुर राईले उम्मेदवारी दिएका छन् भने काङ्ग्रेसबाट  सन्तोष चालिसे उम्मेदवारी दिएका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा पुरानै प्रतिस्पर्धी बिच रोचक भिडन्त हुने छ । यसपालि पनि काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेस महामन्त्री गगनकुमार थापा र एमाले नेता डा.राजन भट्टराईबिच मुख्य प्रतिस्पर्धा हुने छ । स्थानीय तहको मत परिणाम अनुसार एमाले अगाडि देखिएको यो क्षेत्रमा निकै रोचक भिडन्त हुने छ ।अघिल्लो निर्वाचनमा एमालेका भट्टराईलाई कांग्रेसका थापाले पराजित गरेका थिए । 

काठमाडौँ क्षेत्र नं ५ मा पनि निकै रोचक भिडन्त हुने देखिएको छ । काठमाडौँ ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र स्वतन्त्र उम्मेदवारी दिएकी रज्जु दर्शना बीच रोचक भिडन्त हुने छ । काठमाडौँ ६ मा भने कांग्रेसका निवर्तमान सांसद भीमसेनदास प्रधान र एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल बिच प्रतिस्पर्धा हुने छ । 

रोचकताकै हिसाबले हेर्ने हो भने काठमाडौँ क्षेत्र नं ७ पनि अन्य क्षेत्र भन्दा कम हुँदैन । यहाँ माओवादी केन्द्रले मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ भने यस अघि दुई पटक सम्म निर्वाचित सांसद तथा पूर्व मन्त्री रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि काठमाडौँका रैथाने मानन्धरको स्वतन्त्र उम्मेदवारी दिएका हुन । काठमाडौँको सबै भन्दा सुरक्षित क्षेत्र मानिएको काठमाडौँ ७ मा मानन्धरको उम्मेदवारीले  एमालेलाई धक्का लाग्ने अनुमान गरिएको छ । यहाँ एमालेबाट श्यामकुमार घिमिरे चुनाव लड्दै छन । 

काठमाडौँ क्षेत्र नं ८ मा संस्कृति मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ र एमालेका शिव सुन्दर राजवैद्यबिच मुख्य प्रतिस्पर्धा हुने छ । स्थानीय तहको निर्वाचनमा पराजित सुमन सामयीले पनि यसै क्षेत्रबाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् । सामयीको उम्मेदवारीले काँग्रेस र एमालेका उम्मेदवारलाई चुनौती थपिएको छ । 

काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र माओवादी केन्द्रकी कल्पना धमलाबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएका मिलन पाण्डे पनि उनीहरूका चुनौती बनेर उभिएको छन् । काठमाडौँ क्षेत्र नं १० मा कांग्रेसका राजेन्द्र कुमार केसी र एमालेका हिमेस केसी बिच नै मुख्य प्रतिस्पर्धा हुने छ । 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ क्षेत्र नं १ मा आक्रामक रूपमा प्रस्तुत भएका छन् । अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका उनी प्रकाशमान सिंहसङ झिनो मतले पराजित भएका थिए । यसपालि राप्रपाबाट उम्मेदवारी दिएका उनले प्रकाशमान सिंहलाई जसरी पनि पराजित गर्ने लक्ष सहित निर्वाचनमा होमिएका छन् ।

काठमाडौँका जनताले विगत देखिनै फरक तवर बाट मतदान गर्दै आएका छन्  । काठमाडौँवासीको मतदानलाई हेर्ने हो भने उनीहरूले सत्तामा रहेका दललाई भन्दा पनि विपक्षमा रहेका दलहरूलाई मत दिँदै आएका छन् । ०७० सालको निर्वाचनमा तत्कालीन राप्रपा नेपालले प्रत्यक्ष तर्फ एक सिट पनि नजित्ने थाहा हुँदा हुँदै काठमाडौँका जनताले राप्रपालाई ठुलो मत दिएका थिए । त्यसताका राप्रपाले प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसके पनि समानुपातिक तर्फ भने २५ सिट जितेको थियो । त्यो अधिकांश मत काठमाडौँका जनताको थियो । 

०७४ सालको निर्वाचनमा पनि काँग्रेस सत्तामा थियो । तर काठमाडौँका जनताले स्थानीय तहको निर्वाचनमा होस अथवा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा होस, मत एमालेलाई दिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँका जनताले रैथाने एमालेका केशव स्थापित र काँग्रेस नेतृ सिर्जना सिंहलाई समेत पराजित गरिदिए । उनीहरूले  काठमाडौँ बाहिरका बालेन्द्र साहलाई विजय बनाए । आगामी निर्वाचनमा पनि यस्तै हुन सक्ने भन्दै थुप्रै स्वतन्त्र उम्मेदवारी परेको छ

राजनीतिक जानकारहरूले भने काठमाडौँ वासीले  सधैँ लहडका आधारमा मत नदिने बताएका छन् । बरु धेरै उम्मेदवारले उम्मेदवारी दिँदा त्यसमध्येबाट भने राम्रा मानिस निर्वाचित हुन सक्ने उनीहरूको बुझाइछ । “यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । लोकतन्त्रमा आम जनता र नागरिक समाजमा ठुलो चेतना हुन आवश्यक छ । यसले गर्दा जुन स्थापित राजनीतिक दल र नेताहरू छन्, उनीहरूलाई चुनौती थपिएको छ । लोकतन्त्रमा धेरै प्रतिस्पर्धा हुनु राम्रो पनि हो । धेरैमा प्रतिस्पर्धा हुँदा योग्य मानिस निर्वाचित हुन सक्छन् । ” प्रा.कपिल श्रेष्ठ, राजनीतिक विश्लेषक

स्थानीय तहको मत परिणाम अनुसार १० निर्वाचन क्षेत्र मध्य काँग्रेस मात्रै एक्लै ७ क्षेत्रमा बलियो देखिएको छ । नेपाली काँग्रेस क्षेत्र नं १, ३, ६, ७, ८, ९ र १० मा सबै भन्दा बलियो दल बनेको छ । क्षेत्र नं २, ४ र ५ मा भने एमाले बलियो छ । सत्ता गठबन्धनको मत एकै ठाउँमा जोड्दा समेत क्षेत्र नं ५ मा एमाले बलियो छ । उनीहरूको त्यो मत सबै उनीहरूलाई जाँदैन । त्यो केही मत स्वतन्त्र उम्मेदवारलाई पनि जाने छ । 

दश निर्वाचन क्षेत्र रहेको काठमाडौँमा दल गत र स्वतन्त्र गरी दुई सय ५६ जनाले उम्मेदवारी दिएका छन् । सबैले आ—आफ्नो जीत हुने दाबी गरे पनि निर्वाचनमा मतदाताले हालेको मत गणना नगरेसम्म कसले जित्छ, यसै भन्न सक्ने अवस्था भने अहिल्यै छैन । त्यसो त गठबन्धन गरेर दलहरू निर्वाचनमा होमिएको भए पनि आम मानिसले दलका शीर्ष नेताले भनेकै भरमा मतदान गर्छन् भन्ने पछि छैन । 

स्थानीय तहमा स्वतन्त्र व्यक्तिहरूमा देखिएको आकर्षणलाई आधार बनाएर धेरैले अहिले उम्मेदवारी दिएका छन् । यद्यपि राजनीतिक एजेन्डाबिना आम मतदाताले स्वतन्त्र भनेकै भरमा उनीहरूलाई मतदान गर्छन् भन्न सकिने अवस्था समेत छैन । त्यसैले अहिले नै यस्तो होला भन्ने अनुमान गर्न नसकिए पनि मूलधारका राजनीतिक दलहरुवीचनै काठमाडौँका १० निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि राजनीतिक दलहरूसँग रुष्ट भएका मतदाताले अप्रत्याशित नतिजा नदेलान् भन्न पनि सकिँदैन । सङ्घीय राजधानी रहेको काठमाडौँमा कसले बाजी मार्छ त्यो भने मङ्सिर ४ पछि नै थाहा हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार