७ स्वर्ण जित्दै आर्चरीमा गण्डकीको वर्चस्व

बुधबार, मंसिर ७, २०७९
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पारेको छ । तेश्रो बनेको अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक प्राप्त गरेको छ । चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । प्रदेश १ ले २ रजत जित्दा सुदूर पश्चिमले १ रजत र २ कांस्य तथा बाग्मती प्रदेशले १ कांस्य मात्र जित्न सक्यो । सहभागीमध्ये लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । एपीएफका बिराट थापा तेस्रो भए । गंगा र तिलक वरीयतामा पनि पहिलो र दोस्रो स्थानमै थिए । विराट पाँचौ वरीयतामा थिए । रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकै ज्ञानु अवाले तेस्रो भइन् । वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा थिइन् । ज्ञानु तेस्रो वरीयतामै थिइन् । कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै खेलाडी फाइनल भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो भए । वरीयतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै थिए । सुरेश चौथो वरीयतामा थिए । कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरीयताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरीयताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले पराजित गर्दै स्वर्ण जितिन् । तेस्रो वरीयताकी एपीएफकी निर्मला कानवाङ राई तेस्रो नै भइन् । स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरीयताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि परे । बाग्मतीका फर्माचन शेरचन तेस्रो भए । शेरचन पाँचौ वरीयतामा थिए । स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो भइन् । वरीयता निर्धारणमा शारदा दोस्रो स्थानमा थिइन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा थिए ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार