एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रङ्गशालामा मंगलबार बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५ः२९ सेकेन्डमा पूरा गरिन् । स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटको कारण पूरा गर्न नसकेको बताइन् । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९ः५९ सेकेन्डको कीर्तिमानी छ । त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाएकी पुलिसकी खेलाडी राजपुराले १७ मिनेट १२ः०५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जितिन् । उनले निर्धारित दूरी १८ मिनेट ०३ः०० सेकेन्डको समयमा पूरा गरिन् । यसैगरी मंगलबार नै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पारेका छन् । उनले निर्धारित दूरी ५३ः५३ सेकेन्ड समय खर्चदै पूरा गरे । सोही स्पर्धामा आर्मीकै जीवन चौधरीले ५३ः८९ सेकेन्ड समय लगाउँदै रजत पदक जिते । सशस्त्र प्रहरी बल (एपीएफ) का निरप्रताप महतोले कास्य जिते। उनले ५३ः९२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जितेका हुन् । त्यस्तै एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी दुई मिनेट २७ः३६ सेकेन्ड समय खर्चदै स्वर्ण जितेकी हुन्। सोही स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७ः५० सेकेन्डको समय लगाउँदै रजत पदक जितेकी हुन् । आर्मीकी रेखा लिम्बूले कास्य जितिन्। उनले निर्धारित दूरी दुई मिनेट ३०ः४८ सेकेन्डको समय लगाउँदै कास्य जितेकी हुन् । यस्तै मंगलबार नै भएको पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते। सोमले निर्धारित दूरी एक मिनेट ५४ः०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत जिते । उनले एक मिनेट ५५ः२१ सेकेन्डसहित रजत जितेका हुन्। त्यस्तै आर्मीका सुनिल सुनारले एक मिनेट ५५ः५२ सेकेन्डसहित कास्य जिते । ज्याभलिन थ्रोको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण जिते । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा रोहितले ६४ः२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । सोही स्पर्धामा एपीएफका रमेश पोखरेलले ५५ः४३ मिटर थ्रो गर्दै रजत पदक हात पारे । एपिएफकै मनोज डगौँराले ५३ः३९ मिटर थ्रो गर्दै कास्य पदक हात पारे । यसैगरी एथ्लेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मलित टोलीले ४९ः६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । मनिषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्ती सम्मिलित गण्डकी प्रदेशले ५२ः७५ सेकेन्डको समय निकाल्दै रजत जितेका छन्। रजिना दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य सम्मलित बागमती प्रदेशले ५२ः७६ सेकेन्डसहित कास्य जितेका छन् । सोही स्पर्धाको पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२ः४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो। जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२ः६० सेकेन्डसहित रजत जित्यो भने सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित लुम्बिनी प्रदेशले ४४ः३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार