नेभिगेशन
समाचार

चुनाव अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ : प्रचण्ड

ललितपुर–सत्तारुढ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावलाई अग्रगमनकारी र प्रतिगमनकारीबीच लडाइँको संज्ञा दिएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचन कार्यक्रममा बुधबार बोल्दै भने, उनले भने,‘चुनावमा सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ हो ।’ चुनाव आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको उनको भनाइ छ । ‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, प्रचण्डले भने, ‘यसैले यसलाई हामीले सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट छैन । हाम्रो लागि यो निर्वाचन मात्रै छैन । यो जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने र त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो छ ।’ माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता सावित गर्नुपर्ने चुनौती रहेको उनले बताए । उनले गतसाल झन्डै झन्डै प्रतिक्रान्तिको अवस्था आएको तर त्यसलाई आफूहरूले रोकेको दाबी गरे । ‘हामी बलियो हुँदा परिवर्तन पनि रक्षा हुन्छ, समाजवादको आधार निर्माण गर्ने वातावरण पनि बन्छ। हामी कमजोर हुँदाचाहिँ सबैथोक उल्टिने खतरा छ’, उनले भने, ‘हाम्रा लागि यो निर्वाचन भोट हाल्ने सामान्य निर्वाचन मात्र होइन। हामी सबैका निम्ति ती महान् सहिदहरू, बेपत्ता, घाइते योद्धाहरू र अपांगहरू र यो क्रान्तिमा सहभागी सम्पूर्ण जनताका निम्ति जीवन–मरणकै संघर्षको रूपमा छ ।’ अहिले पनि प्रतिगमनको खतरा नटरेको उल्लेख गर्दै मंसिर ४ गते प्रतिगनकारी र अग्रगमनकारीको शक्ति परीक्षण हुने प्रचण्डले बताए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार