महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबलाई

बुधबार, मंसिर ७, २०७९
पोखरा— नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । पोखरा क्रिकेट मैदानमा मङ्गलवार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पुलिसले डेब्यु प्रतियोगितामै ऐतिहासिक स्वर्ण पदक जितेको हो । पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली बनाएको थियो । पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् । कविता जोशीले अविजित १३ रनको ईनिङ खेल्दा कविता कुँवरले ११ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले ८ रन जोड्दा अप्सरी बेगमले अविजित २ रन बनाइन् । एपीएफका लागि नेरी थापा, इन्दु बर्मा र कप्तान सिता राना मगरले समान १/१ विकेट लिए । प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्