नेभिगेशन
समाचार

राप्रपा नेपालका असन्तुष्ट पाँच पदाधिकारीले भेटे प्रचण्ड

काठमाडौं–राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर–१ बाट चुनाव लड्न लागेपछि असन्तुष्टहरुले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । अध्यक्ष प्रचण्डलाई भेट्न राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचाय प्रचण्ड निवास खुमलटार नै गएका थिए । भेटमा सहभागी माओवादीका एक नेताका अनुसार राप्रपाका ती सबै नेताहरु अध्यक्ष कमल थापासँग असन्तुष्ट छन् । ‘आफू एमालेको चिन्ह लिएर चुनाव लड्ने अनि पार्टीका अन्य नेतालाई राप्रपा नेपालकै चिन्हमा लड भन्ने उहाँको कदमले हामीलाई दुखित बनाएको छ,’ ती नेताले भने, ‘खासमा अहिले पार्टी प्रवेश नगर्ने तर, गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ ।’ राप्रपाका पदाधिकारीहरुले प्रचण्डलाई राजनीतिको केन्द्र रहेको नेता भन्दै गोरखाबाट चुनाव जिताउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । राप्रपा नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मकवानपुर–१ बाहेक अन्य क्षेत्रमा आफ्नै चुनाव चिन्ह लिएर लड्दैछ । श्याम तिमल्सिना केही समय अघि मात्र राप्रपा नेपाल प्रवेश गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार