नेभिगेशन
समाचार

स्वतन्त्र पार्टीको उम्मेदवार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुकार बमलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बमले प्रचार-प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूलाई पुकार बम नाम अङ्कित टिसर्ट लगाउन लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख छ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईँले निर्वाचन प्रचार-प्रसारका क्रममा आफ्नो नाम अङ्कित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ ? स्पष्टीकरण पत्रमा अगाडि भनिएको छ, ‘तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो ? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार