नेभिगेशन
समाचार

उम्मेदवारले कात्तिक १८ देखिमात्रै चुनावी कार्यक्रम गर्न पाउने

काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने भएका छन् । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक १७ गते पछि मात्र उम्मेदवारहरूले चुनावी कार्यक्रम गर्न पाउने छन् । यदि कात्तिक १७ गते अघि कुनै पनि उम्मेदवाले चुनावी कार्यक्रम गरे निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने आयुक्त भण्डारीले चेतावनी दिए । निर्वाचन आयुक्त भण्डारीले सोमबार निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारहरूले कोणसभा, आमसभा, सेमिनार गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको बताए । ‘अहिलेको बेलामा कोणसभा, आमसभा लगायतका गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषय निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन,’ उनले भने, ‘दलका प्रतिनिधिहरूको सहमतिमा समेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात् कात्तिक १८ बाट निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरू गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ ।’ उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने भण्डारीले बताए । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उनले जानकारी दिए । ‘निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भयो भने आयोगले कठोरतापूर्वक उम्मेदवारलाई कारबाही पर्छ । त्यो कारबाहीको विषय कतिसम्म होलाभन्दा मनोनयन पत्र खारेज पनि हुनसक्छ,’ उनले भने, ‘आचारसंहिता कार्यान्वयन गर्ने सवालमा कुनै पनि कसर बाँकी राख्दैन । बडो निर्मम तरिकाले निर्दयी भएर कारबाही गर्दछ ।’    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार