नेभिगेशन
समाचार

जरिवाना नबुझाए समानुपाचिक बन्द सूचीबाट नाम हटाउने चेतावनी

काठमाडौं–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाएर कारबाही सूचीमा परेका उम्मेदवारहरूले जरिवाना नबुझाए समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम हटाउने चेतावनी दिएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका र कानुनबमोजिम समयमै खर्चको विवरण नबुझाएका ४३९ जना उम्मेदवारहरू आसन्न निर्वाचनको समानुपातिक बन्द सूचीमा परेका छन् । तर, स्थानीय तह चुनावमा कानुनबमोजिम तोकिएको जरिवाना नतिरे उनीहरूले उम्मेदवार बन्न नपाउने र कानुनबमोजिम समानुपातिक बन्द सूचीबाट नाम हटाउने चेतावनी दिएको छ । आयोगले बन्द सूचीमा नाम रहेका उम्मेदवारहरूलाई कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन समेत आग्रह गरेको छ । ‘२०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाए जरिवाना असुलउपर भएको कायम गरी कानुनबमोजिम गर्ने र जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगले चुनाव खर्चको विवरण नबुझाउने एक लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको थियो । स्थानीय चुनावमा उम्मेदवार भएकामध्ये ८० प्रतिशतले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । कानुनअनुसार चुनाव खर्च नबुझाएमा महानगरपालिकाका प्रमुख÷उपप्रमुखलाई सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूलाई तीन लाख, उपमहानगरपालिकाका प्रमुख÷उपप्रमुखलाई पाँच लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूलाई दुई लाख ५० हजार, नगरपालिकाका प्रमुख÷उपप्रमुखलाई चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूलाई दुई लाख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरूलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था छ । निर्वाचन खर्चको विवरण नबुझाउने निर्वाचित पदाधिकारीले छ महिनाभित्र पनि जरिवाना नतिरे आयोगले निर्वाचित पद रद्द गर्न सक्ने तथा अर्को निर्वाचनमा समेत उम्मेदवार बन्न नपाउनेसम्मको कानुनी व्यवस्था रहेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार