प्रतिगमनको खतरा टरेको छैन : देउवा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’ चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनले बताए । ‘नेपालमा लडेर ल्याएको प्रजातन्त्रलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । ‘गठबन्धन संस्कृतिको विकास भएको छ, यो मिलेर चुनाव लड्ने र मिलेर लोकतन्त्रको सुदृढिकरण गर्दै देशको गरिबी हटाउने मौका पनि हो, चुनौति पनि हो’, प्रधानमन्त्री देउवाले भने । यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वाम लोकतान्त्रिक गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी गरे । उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताए । ‘हामीले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएका छौँ । संविधान र लोकतन्त्र नै धरापमा परिसकेको थियो’, उनले भने ‘वाम लोकतान्त्रिक गठबन्धनले त्यसको रक्षा गरेको छ । प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढुंगले अगाडि बढेको छ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्