कञ्चनपुरमा समाजवादीको समर्थन एमालेका बागीलाई

बिहीबार, मंसिर १, २०७९
कञ्चनपुर–कञ्चनपुर–१ मा सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेका बागी उम्मेदवारलाई समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनमा एउटा पनि क्षेत्र नपाएपछि कञ्चनपुरमा समाजवादी २ वटा प्रदेश सभा क्षेत्रमा एक्लै चुनाव लड्दै छ । प्रदेश सभा–३ (क) मा सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावल र प्रदेश सभा–२ (ख) मा पूर्वसामाजिक विकासमन्त्री लालबहादुर खड्का एकीकृत समाजवादीबाट चुनाव लड्दै छन् । सत्ता गठबन्धनमा समाजवादीले यी दुवै क्षेत्रमा अन्तिमसम्म दाबी गरेको थियो । तर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले यी क्षेत्र बाहेक कञ्चनपुरमा कुनै पनि एउटा क्षेत्र पनि एकीकृत समाजवादीलाई दिन तयार भएनन् । त्यसपछि असन्तुष्ट नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएर कांग्रेस र माओवादी केन्द्रका विरुद्ध २ वटा प्रदेशमा आफ्नो एकल उम्मेदवारी दिएको हो । कञ्चनपुरका प्रतिनिधि सभाका ३ क्षेत्रमध्ये क्षेत्र १ माओवादी केन्द्र तथा क्षेत्र २ र ३ कांग्रेसको भागमा परेको छ । समाजवादीले गठबन्धन विरुद्ध उम्मेदवारी नदिएको कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेका बागी उम्मेदवार समर्थन गर्ने अन्तिम सहमतिमा पुगेको छ । ‘गठबन्धनबाट कांग्रेस र माओवादीले हामीलाई एउटा क्षेत्र पनि दिएनन्, दाबी रहेको क्षेत्रमा हामीले उम्मेदवार उठायौँ,’ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले भने, ‘क्षेत्र १ मा पनि अहिलेसम्म गठबन्धनका दलहरुले हामीसंग समन्वय गरेका छैनन्, कसरी सहयोग गर्न सकिन्छ?’ आधिकारिक निर्णय नगरेपनि क्षेत्र–१ मा नेकपा एमालेका बागी उम्मेदवारलाई समर्थन गर्ने आन्तरिक तयारी भएको उनले बताए । क्षेत्र–१ मा नेकपा एमालेका ३ जना नेताहरूले बागी उम्मेदवारी दिएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खेम सुवेदीले प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका छन् । यस्तै, प्रदेश सभा (१) मा भक्तबहादुर अधिकारी र प्रदेश सभा (२) मा टेकबहादुर साउदले एमालेबाट बागी उम्मेदवारी दिएका छन् । उनीहरुलाई नेकपा एमालेले पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकेको छ । क्षेत्र–१ मा नेकपा एमालेबाट सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री तारालामा तामाङ प्रतिनिधि सभाका उम्मेदवार छन् । यस्तै, क्षेत्र–१प्रदेश सभा (क) मा माओवादी पृष्ठभूमिका वीरबहादुर थापा (पातल)र प्रदेश सभा (ख) मा एमाले कञ्चनपुर सचिव पल्लवराज भट्ट उम्मेदवार छन् । नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी नेत्री समेत रहेकी पूर्वमन्त्री बीना मगर, प्रदेश सभा–१ (क) मा कांग्रेसका बन्धु राना र प्रदेश सभा–१ (ख) मा दिवानसिंह विष्ट उम्मेदवार छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्