गठबन्धनका सहयात्रीले नै मत नदिने

बिहीबार, मंसिर १, २०७९
काठमाडौं–सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मत नदिने भएको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो एकीकृत समाजवादीले कांग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको हो । कांग्रेसले आफूहरूलाई प्रदेश सभामा उठ्न नदिएपछि यस्तो निर्णय लिइएको एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष कविन्द्र बिष्टको भनाइ छ । ‘हामीले प्रदेश सभाको एउटा सिट माग गरेका थियौं । एउटा सिट माओवादीलाई दिएर अर्कोमा कांग्रेस नै उठ्यो । पार्टी जोगाउनुपर्ने भएपछि हामीले कांग्रेसलाई समर्थन नगर्ने भएका हौं,’ बिष्टले भने । गठबन्धनविरूद्ध नउभिन एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आग्रह गरे पनि बाध्यात्मक परिस्थितिका कारण देउवालाई समर्थन गर्न नसकिने जानकारी गराएको बिष्टले बताए । एकीकृत समाजवादीले प्रतिनिधि सभामा मल्ललाई सघाउने र प्रदेशमा कांग्रेस (बिपी)ले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने विषयमा दुई दलबीच लिखित सहमति नै भएको छ । यसअघि मल्ललाई नेकपा (एमाले) ले समर्थन गर्ने जनाएको थियो । मल्ललाई सघाउन एमालेले डडेल्धुरामा आफ्नो उम्मेदवार नै उठाएको छैन । तर एमाले जिल्ला कमिटीले मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ । गत स्थानीय चुनावको मतपरिणामअनुसार डडेल्धुरामा कांग्रेसका वडाध्यक्षहरूको मत २१ हजार ७३५ रहेको छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ र एकीकृत समाजवादीको ५ हजार ४१ रहेको छ । यस्तै कांग्रेस(विपी) को मत ३हजार ६०४ रहेको छ । एकीकृत समाजवादीले प्रदेश सभा (क) मा तारा जोशीलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्