ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ : कुइँकेल 

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – काँग्रेस नेता दीपक कुइँकेलले काठमाडौँ–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्व सभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् । शनिवार काठमाडौँ–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई काँग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए । घर्ती जत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकुलले काठमाडौँ–२ का मतदाताका लागि खुसीको कुरा भएको बताए । ‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ  । उहाँलाई जिताउने जिम्मा हाम्रो हो । काठमाण्डाैँ–२ का काँग्रेस जन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो ।’ संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रूपान्तरित प्रतिनिधिसभाको सभामुखका रूपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवार पराजित हुने दाबी गरे । पूर्व सभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन् । आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाण्डाैँ–२ का लागि आफूले पाँच वर्ष दिने बताइन् । उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय काँग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिसन भएको उल्लेख गरिन् । ‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिसन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरूले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो ।’ घर्तीले काठमाडौँ–२ को समग्र विकासका साथै तीन कुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्