नेभिगेशन
समाचार

कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल सकियो

सुर्खेत–कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभाको १० औं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्य गरेका प्रदेश सभा सचिवालयका उपसचिव ((कानुन) तेजप्रकाश जोशीले जानकारी दिए । १० औं अधिवेशन अन्त्यसँगै कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल पनि सकिएको छ । अब प्रदेश सभाको अधिवेशन बस्दैन । अर्को कार्यकालका लागि आगामी ४ मङ्सिरमा चुनाव हुँदैछ । १० औं अधिवेशनको अवधिसम्म प्रदेश सभाको २१५ पटक बैठक बसेको छ । प्रदेश सभाले पहिलो वर्षमै प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर टुङ्याएको थियो । यस अवधिमा केही महत्वपूर्ण विधेयकहरू प्रदेश सभाले पारित गरेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा अध्यादेशसहित प्रदेशसभामा ८३ वटा विधेयक दर्ता भएका थिए । अधिवेशन अन्त्य भए पनि प्रदेश सभा सदस्यहरूको कार्यकाल कहिलेसम्म रहने भने प्रष्ट छैन । सभामुख राजबहादुर शाहीले भने, ‘कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन । कानुन बनाउनुपर्ने थियो । अहिले कानुन नबनेकाले कहिलेसम्म हुने भन्नै छैन । निर्वाचनको नोमिनेसनसम्म कार्यकाल रहने की भन्ने आ–आफ्नै बहस भइरहेका छन् ।’ अब चुनाव नहुने समयसम्म प्रदेश सभा सचिवालयले प्रशासनिक काम गर्नेछ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सचिवालयले अब प्रशासनिक गतिविधि गर्ने जानकारी दिए । उनले अब सभाले गरेका कामहरू बेवसाइटमा राख्ने, प्रतिवेदनहरू व्यवस्थित गर्नेलगायतका काम गर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार