नेभिगेशन
समाचार

महाभियोग प्रकरणः चार पूर्व प्रधानन्यायाधीशहरू पनि बयान नदिने

काठमाडौं–सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर राणाले आरोप लगाएका चार पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा बयान नदिने भएका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर चार पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो । समितिले पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो । त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने निर्णय गरेका हुन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीशहरूले बताएका हुन् । राणाले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाललाई बोलाउने निर्णय गरेको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए । समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार