नेभिगेशन
समाचार

‘अग्निपथ’का विषयमा बोले भारतीय सेनापति

काठमाडौं–भारतीय सेनाका सेनापति जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथको कोटा अन्यलाई दिने चेतावनी दिएका छन् । भारतीय सेनापति पाण्डेले भने, ‘मलाई लाग्छ नेपालले नोभेम्बर २० (मंसिर ४) मा हुने आमनिर्वाचनअघि कुनै निर्णय गर्नेछैन । यो निर्णय लिने नलिने कुरा नेपालकै हो ।’ नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने जनाउँदै उनले भने, ‘नेपाललले समयमा नै निर्णय गरे अग्निपथमा नेपाली भर्ना प्रक्रिया रोक्न भारत बाध्य हुनेछ ।’ युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले बिहीबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा सेनापति पाण्डेले समयमा नै नेपालले जवाफ नदिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा अन्यलाई दिइने भारतीय अङ्ग्रेजी दैनिक टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतले अग्निपथ योजनामा नेपाली भर्नामा रोक लगाउने निर्णयले दुई मुलुकको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने पनि टाइम्स अफ इन्डियाले दाबी गरेको छ । पाण्डेले आगामी निर्वाचनअघि नेपाललले यस विषयमा कुनै निर्णय लिने सम्भावना कम रहेको र उक्त समयसम्म निर्णय नगरे नेपालीले योजनामा भाग लिन नपाउने बताएका हुन् । अग्निपथमा भर्ती भएकामध्ये २५ प्रतिशतलाई नियमित सेनामा राख्ने र ७५ प्रतिशतलाई चार वर्षपछि फिर्ता पठाउने नयाँ सैनिक कार्यक्रम भारतीय सरकारले ल्याएको हो । भारत सरकारले पेन्सन बजेट कटौतीका लागि अघि सारेको सैन्य सुधार कार्यक्रमअन्तर्गत ‘अग्निपथ’ योजना ल्याएको हो । यसअन्तर्गत १७ देखि २३ वर्षसम्मका युवालाई ‘अग्निवीर’ का रूपमा भर्ना लिइँदै छ । ‘अग्निवीर’हरूले मासिक ३० हजार भारु तलब पाएपनि पेन्सनसहितको अन्य सुविधा भने पाउने छैनन । भारतीय सेनाले दुई ब्याचमा गरेर समग्रमा ४० हजार ‘अग्निवीर’ सैनिक भर्ना गर्ने योजना ल्याएको छ । जसको लागि गत डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजारको तालिम सुरु भएको थियो । भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय नेपाल सरकारले आगामी निर्वाचनसम्म थाति राखेको छ । अग्निपथ कार्यक्रमअन्तर्गत नेपाली युवाको सैनिक भर्तीमा सहयोग गर्न भारतले आग्रह गरे पनि चुनावी सरकारले त्यस विषयलाई थाती राखेको हो । नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती सुरु भएको हो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिब ३० हजार नेपाली सेवारत छन् । पछिल्लो समय भारतीय सेनामा दार्जीलिङ, देहरादुन, धर्मशालालगायतका ठाउँबाट समेत नेपालीभाषी भारतीयलाई गोर्खा राइफल्समा भर्ती लिन थालिएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार