नेभिगेशन
समाचार

पहिलो पार्टी बन्ने प्रचण्डको दाबी कति सत्य?

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेको बताएका छन् । स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘आगामी निर्वाचनमार्फत् आफूहरू देशको पहिलो कम्युनिष्ट पार्टी बन्छौं । जनताले आफूहरूलाई देशको जिम्मा दिन लागेको हुन् ।’ जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहेको दाबी गर्दै उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ ।’ राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा तीव्र गतिमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर । प्रचण्डले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउँदै उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए । प्रचण्डले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे । ‘माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ’ उनले भने, ‘मैले के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ ।’ माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताउँदै प्रचण्डले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको औँल्याए । समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै उनले व्यावहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गरे ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार