नेभिगेशन
समाचार

एमाले छाडेर राप्रपा प्रवेश गर्ने मिश्रको तयारी

काठमाडौं–विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष तथा पूर्वपत्रकार रवीन्द्र मिश्र राजेन् लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन् । उनी राप्रपामा उपाध्यक्ष रहने भएका हुन् । सुरुमा राप्रपाका अध्यक्ष लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए । तर राप्रपाले त्यसलाई अस्वीकार गरेपछि उनी उपाध्यक्षमा रहने गरी प्रवेश गर्न लागेका हन् । राप्रपा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समितिसँग भएको छलफलमा पछि मिश्रको पार्टी प्रवेश मूर्त रूप लिएको हो । विवेकशील साझा पार्टीको वृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच छलफल भएको हो । विवेकशील साझा पार्टीबाट अलग भइसकेका मिश्रले सिंगो पार्टी नै लिएर आउन सक्ने अवस्था नभएकाले उनलाई वरिष्ठ उपाध्यक्ष पनि दिन नहुने आवाज राप्रपामा उठ्न थालेको थियो । पार्टीको हैसितमा नभएर व्यक्ति मात्र प्रवेश गर्ने भन्दै मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिँदा संगठनभित्रको सन्तुलन बिग्रने जनाउँदै आएका छन् । ‘स्थानीय तह निर्वाचन परिणामले मिश्र रहेको विवेकशील साझा पार्टीको हैसियत पनि देखिएको छ,’ राप्रपाका एक नेताले भने, ‘एउटा व्यक्तिलाई अनावश्यक उचालेर पार्टीका प्रभावशाली नेतालाई डोमिनेट गर्ने काम गरियो भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले क्षति भोग्ने अवस्था आउँछ ।’ त्यसअघि मिश्रले एमाले प्रवेशको तयारी गरेका थिए । मिश्रले भदौ १३ गते एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेका थिए । भेटमा ओलीले मिश्रलाई आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँका एक मुठ्ठी सिक्का उपहार दिएका थिए । त्यस भेटमा ओलीले मिश्रलाई एमालेमा आउन आग्रह गरेका थिए । ओलीको प्रस्तावमा मिश्रले सकारात्मक जवाफ पनि दिएका थिए । ओलीले मिश्रलाई काठमाडौं–१ बाट उम्मेदवार बनाउने प्रस्ताव पनि राखेका थिए । मिश्र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार