नेभिगेशन
जीवनयापन

प्रदेश नं. १ साक्षर प्रदेश घोषणा

विराटनगर– प्रदेश नं १ साक्षर प्रदेश घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन् । युनेस्कोले तोकेको विभिन्न १२ वटा मापदण्डका आधारमा सो प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । सभामुख भण्डारीले साक्षर प्रदेश घोषणा गर्नुहुँदै अब प्रदेशलाई आर्थिक समृद्धिको प्रदेश बनाउने अभियानमा सबैले आफ्नो ठाउँबाट सहयोग पुर्‍याउनुपर्ने बताए। उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार साक्षर प्रदेश घोषणा गर्न सफल भएकोमा खुशी समेत व्यक्त गरे । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले साक्षर प्रदेशको घोषणा सबैका लागि गौरवको विषय भएको उल्लेख गर्दैै समृद्धिका लागि व्यावसायिक तथा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीहरूलाई आग्रह गरे। प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले अबको शिक्षा जागिर खानका लागि मात्र नभई व्यवहारिक हुनुपर्ने बताए । त्यस्तै, प्रदेशका सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्वाहाम्फेले सबैको सहयोगबाट मात्रै प्रदेशलाई साक्षर घोषणा गर्न सकिएको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, तथा सामाजिक विकास समितिका सभापति सरिता थापा खडकाले गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिए । साक्षर प्रदेश घोषणा समारोह अघि प्रभातफेरीको समेत आयोजना गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै