आक्रामक रणनीतिमा इङल्यान्ड

बिहीबार, मंसिर ८, २०७९
लन्डन - इङलिस कप्तान बेन स्टोक्सले दक्षिण अफ्रिकाविरुद्ध बिहीबार सुरु हुने दोस्रो टेस्टमा आफ्नो टिमको आक्रामक रणनीति कायम रहने बताएका छन् । इङल्यान्ड तीन टेस्टको शृंखलामा १-० ले पछाडि छ । टोलीले जितसँगै बराबरीको स्थितिमा फर्कने प्रयास गर्नेछ । घरेलु टोली लर्ड्सको पहिलो टेस्टमा इनिङ्स अन्तरले पराजित भएको थियो । यो हार तीन दिनभित्र सम्भव भएको थियो । नयाँ कप्तान र प्रशिक्षकको नेतृत्वमा इंग्ल्यान्डको यो पहिलो हार थियो । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेस्टमा आफूअनुकूल नतिजा निकाल्न नसकेमा इङल्यान्ड दबाबमा आउनेछ । इङल्यान्ड भने त्यसमा पनि ‘बजबल’ मै कायम रहनेछ । यसको विशेषता आक्रामक ब्याटिङ रहेको छ । त्यसकै मदतमा इङल्यान्डले न्युजिल्यान्डविरुद्ध तीन र भारतविरुद्ध एक टेस्टमा लगातार जित रचेको थियो । यी सबै हार चौथो इनिङ्समा जित लक्ष्य पछ्याउने क्रममा पाएको थियो । तर, दक्षिण अफ्रिकी बलिङ आक्रमणविरुद्ध भने इङल्यान्डको केही पनि चलेन । कागिसो राबाडाको नेतृत्वमा रहेको पाहुना टिमको आक्रमण अगाडि इंग्ल्यान्ड १ सय ६५ र १ सय ४९ रनमा अलआउट भएको थियो । उक्त हारको कारण ‘बजबल’ कमजोर रहेको भन्दा पनि पछिल्लो दुई महिनामा इङलिस खेलाडीले रातो बलबाट कम क्रिकेट खेल्नु प्रमुख मानिएको छ । त्यसमा जो रुट अविश्वसनीय रूपमा दुवै इनिङ्समा असफल रहे । यी स्टार ब्याटरले कम्तीमा अर्धशतक बनाएसम्म इंग्ल्यान्ड टेस्ट क्रिकेटमा विजयी रहेको छैन । यिनै रुटको काँधबाट नेतृत्वको जिम्मेवारी लिएका अलराउन्ड स्टोक्स एक हारपछि आफ्नो रणनीति फेर्ने पक्षमा छैनन् । त्यसअगाडि इङल्यान्ड १७ टेस्टमध्ये एकमा मात्र पराजित थियो । ‘पक्कै पनि हामी रणनीति परिवर्तन गर्ने पक्षमा छैनौं । हामीलाई आफ्नो क्षमताबारे पूरा थाहा छ र त्यसको आधारमा हामी मैदानमा राम्रो खेल्न सक्षम छौं,’ स्टोक्सले भने । न्युजिल्यान्डका पूर्व कप्तान रहेका प्रशिक्षक ब्रेन्डन म्याककलम भने लर्ड्स टेस्टमा हारको कारण आफ्नो टिम कम आक्रामक भएको मान्छन् । उनले भनेका छन्, ‘हाम्रो आक्रामक रणनीति जुनसुकै अवस्थामा सफल हुनुपर्छ भन्ने छैन । हामीलाई पूरा विश्वास छ, हामी शृंखलामा बलियो पुनरागमन गर्न सक्षम छौं ।’ एएफपी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:४३
प्रतिक्रिया दिनुहोस्