नेभिगेशन
समाचार

सत्ता गठबन्धन एमालेका लागि चुनौती, किन पुगे ओली बालुवाटार ?

काठमाडौं - आगामी मंसिर चार गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर अघि बढ्ने निणर्य गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई चुनौती थपिएको छ । २०७४ सालको संघीय निर्वाचनमा पहिलो दल बनेको एमालेलाई आगामी निर्वाचनमा सत्ता गठबन्धनको सामना गर्न निकै कठिन पर्ने देखिएको छ । सत्ता गठबन्धनकै कारण स्थानीय तहको निर्वाचनमा एमालेले अघिल्लो निर्वाचनको तुलनामा ९० भन्दा धेरै स्थानीय तहको गुमायो । पाँच दलीय गठबन्धनलाई डा.बाबुराम भट्टराई र बामदेव गौतमको साथले एमालेलाई चुनौती थपिएको छ । त्यसमाथि लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा सहमागी हुने चर्चाले एमालेलाई आगामी निर्वाचन फलामको चिउरा चपाउनु सरह बनेको छ । आठ दलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचन लड्ने दाबी गर्दै आएको एमालेले मंगलबार भने चुनावी तालमेलका लागि सबै दलसँग खुल्ला रहने निणर्य गरेको छ । एमालेले एक्लै बहुमत ल्याउने दाबी गरे पनि एमालेले भने जस्तो परिस्थिति सहज छैन । एमाले एकातिर पाँच दलीय सत्ता गठबन्धनको सामना गर्नुपर्ने छ भने अर्कातिर एमालेले जनता रिझाउने चुनावी एजेण्डा पनि गुमाउँदै गएको छ । एमसीसी र नागरिकता विधेयक जस्ता राष्ट्रिय मुद्दामा पानीमाथिको ओभानो बन्न खोज्दा एमालेले चुनावी एजेण्डा गुमाएको छ । स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा केही शक्ति सुधार गरेको भए पनि नागरिकता विधयकमा स्पष्ट अडान लिन नसक्दा मधेशमा पनि एमालेको अवस्था कमजोर हुने देखिएको छ । स्वतन्त्र उम्मेद्वारहरुको जबरजस्त उपस्थितले असन्तुष्ट मत पनि एमालेले पाउने सम्भवना अत्यन्तै न्युन छ । एमाले अध्यक्ष ओलीको लोकप्रियता पनि ओरालो लाग्दै गएको छ । परिस्थित अहिले यस्तोसम्म बनेको छ कि एमाले अध्यक्ष ओली स्वयमलाई झापाबाट निर्वाचन जित्न अन्य दलको साथ अत्यावश्यक देखिएको छ । स्थानीय तहको मत परिणम अनुसार झापामा अन्य दलले एमालेलाई साथ नदिने हो भने झापाका सबै क्षेत्रमा एमाले कमजोर देखिएको छ । त्यसमाथि पार्टी विभाजनले आगामी निर्वाचनमा एमालेलाई धेरै धक्का लाग्ने बाम विश्लेषक प्रा.डा. राजेन्द्र चापागाईं बताउँछन् । बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । यस विषयलाई लिएर समेत अध्यक्ष ओली गठबन्धन भाँड्न बालुवाटार पुगेको भन्दै विपक्षीले टिप्पणी गरेका थिए । यद्यपी एमाले नेताहरुले भने गठबन्धनलाई परास्त गर्न एमाले एक्लै काफी भएको भन्दै गठबन्धन भाँड्न बालुवाटार धाइरहनु नपर्ने बताएका छन् । समासमायिक छलफलका लागि अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको एमाले नेताहरुको भनाई छ । एक्लै बहुमत ल्याउने दाबी गरेको एमालेले मंगलबार चुनावी तालमेलका लागि सबै दलसँग ढोका खुल्ला गर्ने निणर्य गरेसँगै एमालेले कुन दलसँग चुनावी तालमेल गर्ला भन्ने धेरैको चासोको विषय बनेको छ । आठ दलीय गठबन्धन एक भएर निर्वाचनमा जाँदा एमालेले पनि राप्रपा, राप्रपा नेपाल, सिके राउत नेतृत्वको जनतमत पार्टी, हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीलगायतका साना पार्टीहरुसँग चुनावी तालमेल गर्न सक्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार