नेभिगेशन
जीवनयापन

स्थानीय तहका चार सय बढी उम्मेदवारलाई स्पष्टीकरण

सोलुखुम्बु स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका चार सय भन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । वैशाख ३० मा सम्पन्न उक्त चुनावमा भाग लिएका ८०७ उम्मेदवारमध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रिदा समेत चुनावी खर्च विवरण नबुझाउने ४३१ जना उम्मेदवार विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । एक नगरपालिकासहित आठ स्थानीय तह रहेको सोलुखुम्बुमा पटक पटक ताकेता गर्दासमेत खर्च विवरण बुझाउन अटेरी गरेकाले स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनीहरूलाई भदौ ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । अहिलेसम्म विवरण नबुझाउनेमा सोलुदूधकुण्ड नगरपालिकाका ११५ जना, थुलुङदूधकोसी गाउँपालिकाका ५१ जना, महाकुलुङ गाउँपालिकाका ५३ जना, लिखुपिके गाउँपालिकाका ५६ जना र माप्य दूधकोसी गाउँपालिकाका ४३ जना छन् । सोताङ गाउँपालिकाका ३५ जना, नेचासल्यान गाउँपालिकाका ४५ जना र खुम्बु पासाङल्हमु गाउँपालिकाका ३३ जना उम्मेदवारले आयोगले तोकेको ढाँचामा विवरण बुझाएका छैनन् । चुनाव खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्