नेभिगेशन
जीवनयापन

शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

सुर्खेत - सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका-४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित/मौखिक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको कीर्ते सही र छाप लगाई पास (उत्तीणर्) लेखिएको शङ्कास्पद प्रवेशपत्र भेटिएको थियो । यातायात कर्मचारीले शङ्कास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरेन्द्रनगर-७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताए । ‘प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ’, उनले भने, ‘सम्बन्धित कार्यालयकै कर्मचारीले शङ्कास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ ।’ यसैबीच प्रहरीले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो । प्रदेश लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागुऔषध फेला पारेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्