नेभिगेशन
जीवनयापन

मुलुकको समुन्नति र समृद्धिका लागि सबैले समर्पण देखाउन आवश्यक : गुरुङ

पोखरा - सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समुन्नति र समृद्धिका लागि सबैले समर्पण देखाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) पोखरामा आयोजित नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको तेश्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले समुन्नति, मुलुक र जनताप्रतिको समर्पण अति आवश्यक रहेको स्पष्ट पारे । देशका राजनीतिज्ञहरु आर्थिक मोहबाट मुक्त हुन आवश्यक रहेको स्पष्ट पार्दै उनले मुलुकको रुपान्तरण खोज्ने र मुलुकलाई बदल्ने हो भने आर्थिक मोह त्याग गर्नैपर्नेमा जोड दिए ।   उनले भने, ‘नेताहरु एउटा कुराबाट टाढा रहनैपर्छ, त्यो भनेको राजनीति गर्ने नेताहरु आर्थिक मोहबाट धेरै टाढा रहनुपर्छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको दशकौं वर्ष बितिसक्दा पनि, व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्त भएन, पात्र परिवर्तन भयो तर प्रवृत्ति परिवर्तन भएन भन्ने गुनासो छ ।’ ‘हिजोका दिनमा शहीदहरुले मुलुकका लागि रगत बगाए । तर हामीले रगत बगाउन आवश्यक छैन, कम्तिमा पनि पसिना बगाउन आवश्यक छ । पसिना बगाउन नचाहे देश बन्दैन । राजनीतिमा मुलुकप्रतिको इमान्दारिता र जिम्मेवारिता संगसंगै हुन आवश्यक छ । तर नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको छ ।’ देशको मुहार बदल्न आफू बदलिन आवश्यक रहेको भन्दै उनले जुन नेता आफू बदलिन सक्दैन, त्यो नेताले पार्टी र देश बदल्न नसक्ने ठोकुवा गरे । उनले चुनाव घोषणा भइसकेकाले चुनावको मितिभन्दा १५ दिन अघि नै गाउँ फर्किएर चुनावमा खटिन आग्रह गरे । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले चुनाव नजिकिंंदै गएकाले गाउँ फर्किन र चुनावमा केन्द्रित हुन निर्देशन दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्