नेभिगेशन
जीवनयापन

बैतडी कारागारका १६ कैदीबन्दीमा कोरोना संक्रमण

बैतडी - जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार चार र बिहीबार १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रमुख राधा भण्डारीले जानकारी दिइन् । ‘बुधबार ४ जनामा पुष्टि भएको हो, त्यसपछि थप ८९ जनामा एन्टीजेन परीक्षण गर्दा थप १२ मा कोरोना देखियो,’ उनले भनिन् । कोरोना पुष्टि भएकालाई अलग्गै राखिएको कारागार प्रमुख भण्डारीले बताइन् । आजदेखि कैदीलाई भेटघाट गर्न रोक लगाइएको उनले बताइन् । ठाउँ अभावमा बसाई व्यवस्थापनमा असहज भइरहेको उनले बताइन् । २५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदी राखिएको छ । क्षमताभन्दा बढी कैदी रहेकाले बसाई व्यवस्थामा असहज हुने गरेको कारागार प्रमुख भण्डारीले बताइन् । २०४० सालमा २५ जना कैदीबन्दी अटाउने भवन निर्माण भएको थियो । बैतडीमा समुदायस्तरमै कोरोना फैलिएको छ । केही दिनअघि भारतबाट आउनेहरूमा कोरोना देखिने गरेको थियो । पछिल्लो समय समुदायबाट जाँच गराउन लागि आउनेमा पनि कोरोना देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्