नेभिगेशन
जीवनयापन

पत्रकारितामा अकुंश लगाउनु हुँदैन: डा कोइराला

कावासोती– नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डा शशांक कोइरालाले पत्रकारिता स्वतन्त्र रुपले चल्ने पेशा भएकाले कसैले अंकुश लगाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सत्य तथ्य र निष्पक्ष तरिकाले पत्रकारले समाचार सम्प्रेशण गर्नुपर्ने उनको भनाइ छ । जुन ठाउँमा पत्रकारको जमात धेरै हुन्छ त्यहाँ विकास पनि धेरै हुन्छ नेता कोइरालाले भने, “पछिल्लो समय लेख्नेभन्दा प्रचारवाजी गर्ने पत्रकार पनि केही भएकाले यसतर्फ सचेत रहनुपर्छ ।” डा कोइरालाले नवलपुर क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुने पनि घोषणा गरे। अबको चुनावमा कांग्रेस एक भएर लाग्नुपर्ने पनि उनको भनाई छ । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहित पाँचजना पत्रकारलाई सम्मान गरिएको छ । युनियनको हेटौंडामा हालै सम्पन्न नवौं अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रीय सदस्य घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारिता विधामा विद्यावारिधि उपाधि प्राप्त गर्ने डा भुमिराज चापागाईंलाई सम्मान गरिएको हो । उनहरुलाई नेता डा कोइरालाले सम्मानित गरे । सो अवसरमा अध्यक्ष लम्सालले नेपाल प्रेस युनियन सदैव श्रमजीवी पत्रकारको पक्षमा रहेको बताए । श्रमजीवी पत्रकारको हक अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता पनि उनले जनाए । कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, कांग्रेस नवलपुरका कार्यबाहक सभापति चन्द्रबहादुर राना, उपसभापति बालकृष्ण घिमिरे, सचिव होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्